ए डिभिजनः फ्रेन्ड्सविरुद्ध मछिन्द्रको कठिन जित, शीर्ष स्थानमा यथावत्

काठमाडौं । फ्रेन्ड्स क्लबविरुद्ध कठिन जित हासिल गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफूलाई अंक तालिकाको शीर्ष स्थानमा यथावत् राख्न सफल भएको छ । ​

Advertisement

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले उपहार गोलमा फ्रेन्ड्स क्लबलाई १–० को अन्तरले हराएको हो ।   खेलको ६७औँ मिनेटमा मछिन्द्रले उपहार गोलबाट अग्रता बनाएको थियो ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रस आकाश राईले हेड गर्दा बल फ्रेन्ड्सका रोनेल एन्थानी पउललाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको पहिलो हाफमा पनि फ्रेन्ड्सलाई दबाबमा राखे पनि मछिन्द्रले अग्रता बनाउन सकेको थिएन । खेल अवधिभर फ्रेन्ड्सलाई दबाबमा राखेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन ।

जितसँगै मछिन्द्रले ८ खेलबाट २० अंक जोडेको छ। अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले भने जारी लिगमा पाँचौ हार भोगेको हो । फ्रेन्ड्सको ८ खेलबाट ३ अंक मात्र छ ।