पाकिस्तानका पूर्व कप्तान हाफिजद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पाकिस्तानका अलराउन्डर तथा टीमका पूर्व कप्तान मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका छन् । पाकिस्तानका लागि ५५ टेस्ट, २१८ वानडे र ११९ टी–२० खेलेका हाफिजले १८ वर्षअघि सन् २००३ को ३ अप्रिलमा शारजाहमा जिम्बाव्वेविरुद्ध डेब्यू गरेका थिए ।

पाकस्तिान क्रिकेट बोर्डको तर्फबाट जारी वक्तव्यमा हाफिजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदा गर्दैछु । वास्तवमा मैले आफ्नो अपेक्षाभन्दा धेरै उपलब्धि हासिल गरेको छ । म मेरा समकक्षी खेलाडी, कप्तान, स्पोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु जसले मेरो करियरमा मद्दत गरे ।’

हाफिसले आफ्नो लामो करियरमा पाकिस्तानका लागि सन् २००७, २०११ र २०१९ को तीन विश्वकप खेले भने ६ वटा टी–२० विश्वकपमा भाग लिए । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेलेका छन् । उनले ५५ टेस्टमा १० शतक र १२ अर्ध शतकसहित ३ हजार ६५२ रन बनाए भने २ सय १८ एक दिवसीय खेलमा ११ शतक र ३८ अर्ध शतकसहित ६ हजार ६१४ रन बनाए । टी–२० का ११९ खेलमा उनले १४ अर्ध शतकसहित २ हजार ५ सय १४ रन बनाएका छन् । टेस्टमा उनले ५३, वानडेमा १ सय ३९ र टी–२० मा उनले ३१ विकेट लिन सफल भए ।

Advertisement