सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आइतबार बजार उच्च अंकले बढेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा ओर्लिएको छ।

Advertisement

आइतबार नेप्से ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको थियो । नेप्सेका अनुसार सोमबार  कारोबार रकम भने बढेको छ। आइतबार पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँमात्र कारोबार भएको सेयर बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज कूल २३८ वटा कम्पनीका एक करोड दुई लाख ९२ हजार २६६ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज घटेको छ।

सोमबार यस्तो सूचक १०.८५ अंकले घटेर  ४७१.८९ विन्दुमा ओर्लिएको छ। आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज गोर्खाज फाइनान्स कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सोमबार  कारोबारमा आएका १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूहका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। खरिदबिक्री रकममा ३० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र नेपाल लाइफ इन्स्योरेन्स परेका छन्।