नेपाली महिला भलिबल टोली अपराजित हुँदै फाइनलमा

काठमाडौं । नेपाली महिला टोलीले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। एक खेलअगावै फाइनल पुगिसकेको नेपाली टोलीले लिग चरणको अन्तिम भिडन्तमा कीर्गिस्तालाई सोझो सेटमा पराजित गर्यो।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–८, २५–१४ र २५–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।  नेपालले अब उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ। लिग चरणमा नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो। उपाधि भिडन्त मंगलबार हुनेछ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ३–२ तथा माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो।

Advertisement