May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि १५१ सदस्यीय समिति गठन

तनहुँको देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि समिति गठन गरेको छ । मेला व्यवस्थापनका लागि क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको हो ।

Advertisement

मेला व्यवस्थापनका लागि मूल समिति एवं विभिन्न उपसमिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँट गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो । हरेक वर्ष माघेसङ्क्रान्तिका अवसरमा देवघाट मेला लाग्ने गरेको छ । गत वर्ष तीन लाख जनाले माघेसङ्क्रान्ति मेला भरेका थिए ।

मेला व्यवस्थापनको तयारीका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालाहरुको बृहत् बैठक आयोजना गर्ने तयारी गरेको छ । मेलाका लागि सुरक्षा प्रबन्ध, प्राथमिक उपचार, भोजन तथा आवास, जलविहार, सवारी पार्किङ, सरसफाइ, सजावट, प्रचारप्रसारलगायत उपसमिति गठन गरिएका छन् ।

माघेसङ्क्रान्ति मेलामा लाखौँ भक्तजन त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गर्न आउने हुनाले भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि ती समिति सक्रिय हुनेछन् । पुसको अन्तिम सातादेखि भक्तजन देवघाटमा आउन थाल्ने र माघको पहिलो सातासम्म पनि उक्त मेलाको प्रभाव पर्ने हुँदा सबै समितिलाई क्रियाशील बनाइने समितिले जनाएको छ ।

माघेसङ्क्रान्ति मेला भर्न आउने भक्तजनको सहजताका लागि त्रिशूली नदीबाट वेणीसङ्गम जान डुङ्गा परिचालन गरिनेछ । मेलामा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद परिचालन गरिनेछ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ । गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहँदै आएको छ ।