May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनसके लोकतन्त्र बलियो बन्ने बताउनुभयो ।

Advertisement

निर्वाचन प्रणाली खर्चिलो बन्दै गएको जनाउँदै उहाँले आम सर्वसाधारण निर्वाचनमा उमेदवार बन्नसक्ने किसिमको कम खर्चिलो बनाउनु अपरिहार्य भएको उल्लेख गर्नुभयो । आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले विद्यमान निर्वाचन प्रणालीलाई सुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको बताउनुभयो ।उहाँले भन्नुभयो,“विद्यामान निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गर्न आवश्यक छ ।”

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले विद्यमान निर्वाचन प्रणाली सम्बन्धमा देखिएका समस्याबारे सुझाव सङ्कलन गरी प्रतिष्ठानले सम्बन्धित निकायमा सिफारिस गर्ने बताउनुभयो ।

पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीलाई खर्चिलो बनाउनबाट रोक्नुपर्नेमा जोड दिँदै यसका लागि दल तथा आयोग दुवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेशसभा सदस्य, सरकारी अधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।