May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

अझैं सञ्चालनमा आउन सकेन टीकापुर बसपार्कः बस पार्किङको समस्या यथावत

कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको छ लेन सडकको कालोपत्र भइरहेको छ । बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको छ ।

Advertisement

हुनत् टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा अहिले बस पार्किङ सडकमै हुने गरेको छ । नगरपालिकाले आफ्नो मातहतमा लिएको एक वर्षभन्दा बढी भइसक्दा पनि बसपार्क सञ्चालनमा नआउँदा पार्किङका लागि निकै समस्या हुने गरेको सुदूरपश्चिम यातायात प्रालिमा कार्यरत रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँले बस पार्किङका लागि अन्त कतै पनि व्यवस्था नहुँदा सडक किनारमा पार्किङ गर्नुपरेको उललेख गर्दै रातीको समयमा पार्किङमा राखिएका बसमा कुनै सवारीसाधन ठोकिएमा त्यसको जिम्मेवारी पनि आफूहरुमाथि नै आउने गरेको बताउनुभयो ।

“बसपार्क सञ्चालनमा आइ दिएको भए धेरै राम्रो हुन्थ्यो । बसपार्क नभएका कारण पार्किङको लागि बस व्यवसायीलाई निकै समस्या छ”, सुवेदीले भन्नुभयो, “नगरपालिकालाई बसपार्क सञ्चालनमा ल्याउन आग्रह पनि गरेका हौं । त्यसमा नगरपालिकाले चासो दिएका छैन । अब सडक कालोपत्रको काम हुन लागेकाले बस पार्किङका लागि झनै समस्या हुने देखिन्छ ।”

सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयले टीकापुर बसपार्क विसं २०७७ भदौ ३ गते एक कार्यक्रमको आयोजना गर्दै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको भए पनि नगरपालिकाले बसपार्क सञ्चालनम ल्याउन सकेको छैन । शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रमअन्तर्गत रु आठ करोड २८ लाखको लागतमा निर्माण भएको बसपार्क प्रयोगमा ल्याउन नसक्दा टीकापुर पुग्ने सवारीसाधन सडक किनारमा पार्किङ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

एक बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्कको दोस्रो चरणको घेरवार लगायतका अन्य संरचना निर्माणका लागि थप रु तीन करोड बजेट छुट्याइएको थियो । अहिले घेरवारको सबै काम भइसकेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले केही काम बाकी रहेका कारण आह्वान गरिएको टेन्डर रद्द गरेर बाँकी काम सम्पन्न गरिएको बताउँदै केही दिनमै बसपार्कको टेन्डरको प्रक्रियामा जाने बताउनुभयो । “काम बाकी रहेका कारण आव्हान गरेको टेन्डर रद्द गर्नुपरेको उहाँको भनाइ छ ।

“अब नयाँ टेन्डर हुन्छ”, नगरप्रमुख रावलले भन्नुभयो, “त्यसको प्रक्रिया केही दिनमा हामी अगाडि बढाउँछौँ र बसपार्क सञ्चालनमा आउँछ ।” विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभीले २०७७ साउन २ गतेभित्र बसपार्क निर्माणको काम सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । जेभीले तोकिएको समयभन्दा अगाडि २०७७ वैशाख २६ गते बसपार्क निर्माणको काम सम्पन्न गरेको थियो ।