May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै, लालबन्दीमा सहमतिको प्रयास जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै गइरहेको छ। जिल्ला जिल्लाबाट अत्यधिक प्रतिनिधि आएको भन्दै हिजो तय भएको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। सहमति गर्दै आज त्यसलाई टुंग्याउने भनिएको थियो तर विवाद अझै मिलेको छैन ।

Advertisement

प्रदेश २ मा २७१ सदस्यीय कार्यसमिति चयन गर्नुछ । तर आकांक्षीहरु धेरै भएका कारण त्यो सम्भव देखिएको छैन। सर्लाहीको लालबन्दीमा भइरहेको अधिवेशनमा सहभागी एक नेताका अनुसार पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना निकै कम देखिएको छ। प्रदेश २ को अध्यक्षका लागि रामकुमार शर्मा, अशोक साह, अजय शंकर नायक र दिलिप साहलगायतका दावेदार छन्।

त्यसमध्ये एकजनामा सहमति बनाउने प्रयास भइरहेको छ । माओवादीका केन्द्रीय सदस्य रामेश्वर राय यादवले केही बेरमा बन्द सत्र सुरु हुने बताउँदै बन्दसत्रमा सहमतिको प्रयास खोजिने जानकारी दिए ।  सहमति नभए चुनाव जान सकिने सम्भावना रहेको उनको भनाइ छ । एक नेताका अनुसार २७१ जनालाई आठवटा जिल्लामा बाँडफाँड गरिनेछ । त्यसपछि आठवटा जिल्लामा रहेका केन्द्रीय सदस्य र प्रदेश २ समितिका सदस्यहरु मिलेर कार्यसमिति बनाउने छन् । अध्यक्षसहितको त्यो कार्यसमिति केन्द्रमा बुझाइनेछ । त्यसपछि पार्टीका अध्यक्ष प्रचण्डले प्रदेश २ मा एउटा सभा गरेर त्यसलाई घोषणा गर्ने तयारी भइरहेको ती नेताले बताए । यद्यपी त्यसअघि लालबन्दी अधिवेशनमा सहमतिलागि प्रयास गरिनेछ ।

प्रदेश २ मा मातृका यादव र नारायणकाजी श्रेष्ठ गरी दुईटा समूह छन् । दुईटै समूहले आआफ्नो तर्फबाट दावीहरु प्रस्तुत गरेको कारण विवाद समाधान भइरहेको छैन । केन्द्रबाट अध्यक्ष प्रचण्डले ११ गतेअघि नै सहमति गर्न निर्देशन दिएका छन् ।