नहरको पुरानो संरचनाको अध्ययन हुने

मोरङको बूढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । बर्सेनि बर्सातको समयमा खोलामा आउने बाढीको कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ । खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कङ्क्रिट ब्लक र ढुङ्गासहितको तारजाली लगाउनुपर्ने आवश्यकता देखिएको छ । बूढीखोलाको नहरको संरचना १६५ मिटरको एक्वाडक्ट कम ब्रिज हो ।

Advertisement

यदि यो संरचना नदी कटानको कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहर छुरछुरिया शाखा, हरिनगरा शाखा, विराटनगर शाखा, वरियाती शाखा, नयाँपट्टि शाखा, आम झोडा शाखा, रञ्जनी शाखा, चिस्याङ शाखा र झमनपुर शाखामा आश्रित कृषक सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना हुन्छ । तीन वर्ष पहिले २०७४ सालमा मोरङको लोहन्द्राखोलास्थित नरहको संरचनालाई बाढीले बगाएपछि छ वटा शाखामा आश्रित किसान आकाशे पानीको भरमा खेती गर्न बाध्यतालाई मोरङ सिँचाइ आयोजनाले समाधान गरिसकेको छ । यो योजना सम्पन्न गर्न आयोजनाले मूल्य अभिवृद्धि कर सहित रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाई भत्केको नहरको काम सम्पन्न गरी नहरसँगै जोडिएर बनाइने पुलको काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो ।

बूढीखोलामा अहिलेको जस्तै कटान लोहन्द्रा खोलामा पनि देखिएको थियो तर आवश्यक बजेटको अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगाएको थियो । यस्तै स्थिति बुढी खोलामा आउन नदिन तत्काल संरचना सुरक्षा एवं मर्मतमा बजेट विनियोजन गर्नुपर्ने प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या छ बजेट छैन, सिँचाइ जस्तो संवेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने हो ।”

कुनै कारणले यो संरचना भत्कियो भने मोरङमा आयोजनाबाट सिञ्चित हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने आयोजनाका इन्जिनियर नित्यानन्द झाले बताउनुभयो । आयोजनाका संरचना अध्ययन एवं निरीक्षण गर्न आउनुभएका सिँचाइ विभागका महानिर्देशक सुरेश आचार्यले बूढीखोलास्थितको नहरको संरचना जोखिममा छ, यसलाई समयमै बनाउन सकियो भने धेरै ठूलो आर्थिक भारबाट जोगिन सकिने कुरामा जोड दिनुभयो । उहाँले आयोजनाका धेरै संरचना पुरानो भइसकेको छ, विभागले आयोजनाको मुहान चतरा देखि नहरको अन्तिम सीमासँग संरचनाको विषयमा अध्ययन गरेर तत्कालीन र दीर्घकालीन बजेटसहितको योजना बनाउनुको विकल्प छैन भन्नुभयो ।

विभागकै उपमहानिर्देशक कुष्णप्रसाद नेपालले मुलुकको आर्थिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सिँचाइको संरचनालाई बचाउनु राज्यको दायित्व हो भन्दै यसलाई समयमै सम्बोधन गर्नु आवश्यक छ भन्नुभयो ।