३७ अंकले घट्यो सेयरबजार, कारोबार रकम पनि ३ अर्बमा झर्‍यो

काठमाडौं । ११ दिनमा एक दिन बढेको शेयरबजार पुन: घट्न पुग्दा लगानीकर्तामा निराशा छाएको छ । पछिल्लो ११ दिनमा २ सयभन्दा धेरै अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले बढेसँगै खुसी भएका लगानीकर्ता मंगलबारको बजारको अवस्थाले पुन निराश बनेका हुन् ।

Advertisement

मंगलबार नेप्से सूचक ३७.१८ अंकले घटेर पुन २५०८.९१ अंकमा फर्किएको हो । नेप्सेसँगै सोमबार झण्डै ४ अर्ब पुगेको कारोबार रकम पनि आज ३ अर्बकै हाराहारीमा सीमित बन्न पुगेको छ । आज कारोबारमा आएका २ सय ३१ कम्पनीको ८३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सोमबार बजारले लय समाते पनि मंगलबार भने कारोबार सुरु भएदेखि नै बजार घट्न पुगेको हो । उतारचढावपूर्ण स्थितिको सामना गर्दै बजार अन्त्यमा राताम्मे भएर बन्द हुँदा अधिकांश कम्पनीका लगानीकर्ताले शेयरमूल्य गुमाएका छन् । यसरी गुमाउनेमा वित्त समूहका लगानीकर्ता बढी छन् ।

यो समूहको ३.८६ प्रतिशतले नेप्से सूचक घटेको छ । योसँगै विकास बैंकको २.९९, जलविद्युत्‌को २.५४  र अन्य समूहको २.८४ प्रतिशतले सूचक घटेको छ । यता कम्पनीगत रूपमा भने आईसीएफसी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिनर्जी पावरलगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक घट्न पुुगेको छ । समग्रमा आज १ सय ६० कम्पनीको शेयरमूल्य घटेको छ भने २६ कम्पनीको बढेको छ ।

बढ्नेमा  अधिकांश म्युचुअल फण्डहरू छन् ।  यस्तै, घटेको बजारमा प्राइम कमर्सियल बैंकमा लगानीकर्ताको चाप भने सधैँभन्दा धेरै नै देखिएको छ । यो दिन १२ करोड २६ अर्ब रुपैयाँबराबरको शेयर किनबेच भएको हो । योसँगै महालक्ष्मी विकास बैंक र आईसीएफसी फाइनान्सको पनि सर्वाधिक कारोबार भएको छ ।