सेयर बजारमा सुधार : ३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । गत साताबाट लगातार ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार (आज) पुँजी बजार मापन परिसूचक ‘नेप्से’ ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको थियो।

Advertisement

आज कारोबार खुलेको केही समयसम्म उच्च अंकले घटेर २४४० विन्दुमा छोएको सेयर बजार फेरि ‘बाउन्स ब्याक’ भएर २५ सयभन्दा माथिल्लो विन्दुमा आएको हो। आज कारोबार पनि साढे चार अर्ब रुपैयाँभन्दा बढी भएको छ। आज आइतबारको तुलनामा कारोबार रकम केही बढेको हो। आइतबार चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज बढेर चार अर्ब ५४ करोड २३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएका २२७ कम्पनीका ९४ लाख ७१ हजार ३३१ कित्ता सेयर किनबेच भएका छन् ।

यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९७ विन्दुमा पुगेको छ। आज १३ वटै उपसमूहको परिसूचक सकारात्मक बनेका छन्। यस दिन सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मूल्य बढेको छ। यस उपसमूहको सेयर मूल्य यस दिन ३.४५ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत् कम्पनी र फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य यस दिन २.८८ र २.५४ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।

सोमबार मेरो माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ। यस्तै, कृषि विकास बैंकको सेयर पनि आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ। आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनी जनउत्थान लघुवित्त वित्तीय संस्था रहेको छ। यस संस्थाको सेयर मूल्यमा यस दिन ६.८८ प्रतिशतले गिरावट आएको छ।