बिहीबार सेयरबजार फेरि राताम्य

काठमाडौं । बुधबार सामान्य अंकले हरियो भएको सेयरबजार बिहीबार फेरि राताम्य भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ अंकमा खुम्चिएको हो ।

Advertisement

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ९.४६ अंकले ओरालो लागेको छ ।  आजको कारोबारमा २३१ कम्पनी सामेल भएकामा ७९ लाख ३२ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ४७ हजार ८ सय ६४ पटकको खरिदबिक्रीमा ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ।  १३ मध्ये सबै उपसूचक राताम्य हुँदा बीमाका सूचकहरु धेरै अंकले झरेका छन् ।

आज सामलिङ पावर कम्पनी, ङादि हाइड्रोपावर लिमिटेड र महिला लघुवित्तका सेयरधनीले राम्रै कमाए पनि अन्य लगानीकर्ता निराश भएका छन् । गुमाउने लगानीकर्ताले आज ६.८० प्रतिशतसम्म घाटा व्यहोरेका नेप्सेले जनाएको छ ।
आजको अधिकतम कारोबार १२ करोडसम्म मात्रै रहेको छ । मौद्रिक नीति सार्वजनिक भएयता लगातारजसो सेयरबजार उकालो लाग्न सकेको छैन। कारोबार रकम समेत मौद्रिक नीति समीक्षा भइसक्दा ३÷४ अर्बबाट नाघ्न नसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मौद्रिक नीतिले सेयर धितो राखेर लिइने मार्जिन प्रकृतिको कर्जामा सीमा बाँधिदिएको थियो। त्यसको केही दिन लगानीकर्ताले आन्दोलन नै गरे पनि नेपाल राष्ट्र बैंकले यथावत् नै राखेको छ ।

त्यसअघि दिनदिनै कीर्तिमानी कारोबार गरेको सेयरबजारमा नेप्से ३१ सय विन्दुसम्म पुगेको थियो। अहिले घटेर २५ सय हाराहारीमै घुमिरहेको छ ।