सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममाका कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा सोमबार बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने बताएका हुन् ।

सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले बताउँदै मन्त्री आलेले ती काम नियमसंगत तरिकाले भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नसमेत आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले सुदूरपश्चिमका अधिकांश नागरिक कामका लागि भारत जाने परिपाटी अहिले पनि कायमै रहेको बताउँदै यहाँका युवाले गाउँमै रोजगारी पाउने गरी कामको थलनी हुनुपर्ने बताए ।