गण्डकी प्रदेशले कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार वितरण

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई राहत वितरण सुरु गरेको छ । कोभिडका कारण बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको हो ।

Advertisement

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन–अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुगेलाई बिहीबार रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गरेका थिए । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो ।

प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्तानले यो रकम रकम प्राप्त गर्नेछन् । पहिलो चरणमा कोभिडबाट मृत्यु भएका ३९ जनाका ६० बालबालिकालाई राहत वितरण गरिएको संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताए ।

उनका अनुसार मन्त्रालयमा १७० जनाको नाम प्राप्त भएकामा आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी १६२ मध्ये १०२ वटा निवेदनको मापदण्डबमोजिम कागजात पूरा हुन बाँकी छ । बाँकी कागजात माग गरिसकिएको र त्यसपछि उनीहरुलाई पनि राहत रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

पहिलो किस्ताअन्तर्गत कात्तिक मसान्तसम्मका लागि रु ११ लाख पाँच हजार निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।