‘प्रेम गीत ३’ फागुन १३ मा प्रदर्शन हुने

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मका निर्देशकमध्येका एक सन्तोष सेनले फिल्मलाई आउँदो फागुन १३ गते प्रदर्शन गरिने बताएका हुन् ।

Advertisement

प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा रहेको फिल्म लामो समयदेखि प्रदर्शनको बाटोमा थियो । नेपालीसँगै भारतीय भाषामा पनि प्रदर्शन गरिने यो फिल्मलाई लिएर कोरोना महामारीअघि नै निकै चर्चा भएको छ ।

सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशनमा रहेको फिल्ममा प्रदीप र क्रिष्टिनासँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, प्रेम पुरी, अनुभव रेग्मीलगायतको अभिनय रहेको छ ।

दुई सय वर्षअघिको प्रेम कथालाई प्रस्तुत गरिएको फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि प्रदर्शन गर्नका लागि हिन्दी भाषामा डबिङ समेत भइसकेको छ । हिन्दी भाषाका लागि केही समयअघि फिल्मको निर्माण पक्ष भारत गएको थियो । निर्देशक सेनले बताएअनुसार फिल्मलाई भारतको सुपरहिट फिल्म ‘बाहुबली’मा आवाज दिने कलाकारहरुले नै डबिङ गरेका छन् ।