सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Advertisement

मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनले बताए । ‘विहानसम्म मसँग प्रोसिड्युर ९विश्वासको मत लिने प्रक्रिया० बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ ।

यो राम्रो भएन’ मुख्यमन्त्री राईले भने । नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे । मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो । तर नेकपा एमालेले भने विप्लव समूहले गरेको बन्दका कारण आफ्ना सांसदहरु प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक स्थगित गर्न नहुने अडान लिएका थिए ।

सभामुख भण्डारीले प्रदेशसभा बैठक त बोलाए, तर प्रतिपक्षी दलका सांसदहरु सहभागी नभएको भन्दै बैठक बुधबारसम्मका लागि स्थगित गरिदिए ।विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए । ‘यो दुख दिने नियतमात्र हो, यसले परिणाममा फरक केही पार्दैन, उहाँहरु आउन नसक्ने अवस्था मात्र होइन’ उनले भने ।