प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिने भएका छन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Advertisement

 

नेकपा एकीकृत समाजवादी पार्टीका राई गएको कात्तिक १६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै गठबन्धन दलका सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज विश्वासको मत लिने कार्यक्रमको लागि मुख्यमन्त्री राईले हिजोदेखि नै गठबन्धन दलका सांसदहरुलाई विराटनगरको एक होटलमा राखेका छन् ।

नेकपा एमालेले सांसदहरुलाई विभिन्न प्रलोभन दिएर भड्काउन सक्ने शङ्कामा सांसदहरुलाई होटलमा राखिएको मुख्यमन्त्री निकटका नेताले जनाएका छन् । ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् ।

त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना सांसद रहेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गरेका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका थिए ।