सुदूरपश्चिम : ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशको ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ । प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ ।

Advertisement

८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्रायः  वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।

बैतडीमा ८४ मध्ये ७८ वडामा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको र बाँकी रहेका ६ मध्ये चार वडामा शनिबार र दुुई वडामा आइतबार अधिवेशन हुने जानकारी दिए । ५२ वडा रहेको डडेल्धुरामा ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी रहेका वडामा १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ ।

बाजुरामा सबै ६९ वडा र चार वटा पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको छ । बाँकी रहेका वडा र स्थानीयतहको अधिवेशन कात्तिक १५ गते हुनेछ ।

६१ वडा रहेको दार्चुलामा ५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने अन्यमा पनि सर्वसम्मत रुपले नेतृत्व चयन गरिने एमालेले जनाएको छ । अछाममा ९१ मध्ये शनिबार साँझसम्म ६० वडामा निर्विरोध अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको एमाले अछाम जनाएको छ ।

कात्तिक १५ गतेभित्र बाँकी रहेका सबै वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ । कैलाली र कञ्चनपुरका १५ बाहेक सबै वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

शुुक्रबार सम्पन्न वडा अधिवेशनबाट १३ वटा स्थानीय तह रहेको कैलालीका ११६ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेले जनाएको छ । एमाले कैलालीकाअध्यक्ष रतन थापाले जिल्लामा कुल १२६ वडा रहेकोमा शुक्रबार साँझसम्म ११६ वडामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिए ।

शुुक्रबार अबेरसम्म बन्द सत्र नसकिएका बाँकी १० वडामा शनिबार सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने बताइएको छ । धनगढी उपमहानगरपालिका–१२ बाहेक अन्य १८ वडामा अधिवेशन सम्पन्न भएको नगर कमिटीका अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

९ स्थानीयतहका ९२ वडा रहेको कञ्चनपुुरमा पाँचबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ । एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले दोधारा चाँदनी नगररपालिका–७, पुनर्वास नगरपालिका–८ र वेदकोट नगरपालिकाका तीनवटा वडाबाहेक सबै वडामा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए ।