तरुण तपसी र ध्यानको धन

         तरुण तपसी

Advertisement

नेत्र आचार्य । कुनै जङ्गलमा एक तरुण तपसी ध्यान साधना गरी बस्थे । एक दिन एउटा दाउरे तपसीको गुफामा आइपुग्यो । तपसीको ध्यान खुलेपछि दाउरेले आफ्नो गरीबी र दुःख सुनायो । धन आर्जन गर्ने केही उपाय बताइदिन पनि आग्रह गर्यो । तपसीले पूर्वदिशा तिर सङ्केत गर्दै भने -यो दिशामा चार कोश पर पुग्यौ भने श्रीखण्डको जङ्गल फेला पार्नेछौ । श्रीखण्ड बेचेर तिमीलाई मनग्गे धन आर्जन हुनेछ । दाउरे उत्साहित हुँदै तपसीले सुझाएको दिशातिर अगाडि बढ्यो । नभन्दै श्रीखण्डको जङ्गल फेला पर्यो । श्रीखण्ड चन्दन बेचेर दाउरे केही वर्षमा धनी भयो ।

कालक्रममा दाउरेको जीवनशैली फेरियो । दैनिक आवश्यकताहरू बहुगुणित भए । पहिलाको जस्तै अभाव सृजना हुन थाल्यो । दाउरे फेरि उनै तरुण तपसीलाई भेट्न गयो र आफ्नो हाल बतायो । तपसीले सोही दिशामा थप चार कोश अगाडि गयौ भने सुन खानी फेला पार्नेछौ भने । दाउरे औधी उत्साहित भयो र तपसीले बताएको ठाउँमा पुग्यो । नभन्दै त्यहाँ सुन खानी थियो । दाउरे सुन बेचेर करोडपति भयो ।

समयक्रममा दाउरेको उठबस शहरका सेठहरूसँग हुन थाल्यो । परिवारको ऐशआराम बढ्यो, महत्वाकाङ्क्षाहरू बढे, व्यवसायहरू बढे । नयाँ व्यवसायमा लगानी गर्ने पूँजी अभाव हुन थाल्यो । आर्थिक अभाव, तनाव र दबाब झेल्न मुस्किल भयो । दाउरेले फेरि तपसीलाई सम्झियो । यसपालि तपसीले जङ्गलको पल्लो छेउको कन्दरामा हीरामोतीको खानी देखाइदिए । हीरामोती पाएर व्यापरी खुशीले गद्गद् भयो ।

उसले तपसीलाई धन्यवाद दियो र हीरामोती बेचेर देशकै धनाढ्य भयो । उसको सम्पत्तिमा त्यो देशका राजाको आँखा लाग्यो । राजाले अनेक कर थोपरेर उसको धन हडप्न थाले । दाउरेलाई आफ्नो धनदौलत जोगाउने चिन्ता भइरह्यो । यसैबीचमा ऊ एक पटक तपसीलाई भेट्न गयो र सोध्यो – हीरामोतीको खानी तपाइँलाई थाहा थियो, त्यो उपयोग गरेर तपाइँ संसारकै धनी व्यक्ति बन्न सक्नुहुन्थ्यो । तपाइँले त्यसो किन गर्नुभएन ?

तपसीले भन्यो – मैले हीरामोतीभन्दा बहुमूल्य धन पाएको छु । यो धनको तुलनामा हीरामोती ढुङ्गामाटो जस्तै मूल्यहीन छन् । दाउरे चकित भयो । उसले शान्त हुँदै सोध्यो -तपाइँले पाएको हीरामोतीभन्दा बहुमूल्य धनका बारेमा मलाई बताउन सक्नुहुन्छ ? तपसीले भन्यो – मैले मनको शान्ति र आनन्द पाएको छु । यो धन अरू सबै धनभन्दा उत्कृष्ट छ । दाउरेले कौतुहल मान्दै सोध्यो – मनको शान्ति कसरी पाउन सकिन्छ ? तपसीले शान्त भावले भन्यो – ध्यानको अभ्यासद्वारा पाउन सकिन्छ ।

ध्यानको अभ्यास
ध्यानको अभ्यास विभिन्न प्रकारले गर्न सकिन्छ । विपस्सना ध्यानको व्यवस्थित विधि र पद्धति छ । कुण्डलिनी चक्र ध्यानको भिन्नै प्रकारको दर्शन, क्रम र ढाँचा छ । पतञ्जलिले अष्टाङ्गिक योगको व्याख्या गरेका छन् जसमा ध्यान एउटा अङ्ग हो । योग समग्रमा ध्यान साधनाको व्यवस्थित पद्धति नै हो । हठयोगप्रदीपिकामा स्वात्मारामले भनेका छन् – केवलं राजयोगाय हठयोगोपदिश्यते । अर्थात् राजयोगकै निम्ति, ध्यान-समाधिकै पूर्वतयारीका निम्ति हठयोगका आसन-प्राणायाम आदि तय गरिएको हो । विज्ञान भैरवतन्त्रमा धारणाका ११२ वटा विधिहरू छन् । यी विधिलाई पनि ध्यानका निम्ति विभिन्न प्रकारले प्रयोग गरिएको पाइन्छ । यसप्रकार शास्त्रमा ध्यानका अगणित विधि र पद्धतिहरू छन् ।

भगवान् बुद्धले ध्यानको अभ्यास र ज्ञानको समझ साथसाथै विकसित भएको हुनुपर्छ भन्नुभएको थियो । धम्मपदमा बुद्धको वचन छ – नत्थि झानं अपञ्ञस्स नत्थि पञ्ञा अझायत । येसां झानं त पञ्ञा च स वै निब्बान सन्तिके । अर्थात् प्रज्ञा नहुनेको ध्यान हुँदैन, ध्यान नहुनेको प्रज्ञा हुँदैन । जसको ध्यान र प्रज्ञा दुवै हुन्छ उही निर्वाणसम्म पुग्न सक्छ ।

यो आलेखमा हामीले मूलतः विपस्सना ध्यानको बारेमा चर्चा गर्नेछौं !!

विपस्सना पालि शब्द हो जसको अर्थ विशेष रूपले हेर्ने भन्ने हो । स्वासप्रस्वासलाई अवलोकन गर्ने, शरीरमा भएका संवेदनाहरूलाई अवलोकन गर्ने, चित्तमा उठेका विचारहरूलाई अवलोकन गर्ने र अन्तत : धर्म अर्थात् समस्त अस्तित्वलाई अवलोकन गर्ने । व्यक्ति वा वस्तु जस्तो छ त्यस्तै रूपमा हेर्ने र त्यसप्रति प्रतिक्रिया नगर्ने । जीवन र जगत्‌लाई यथाभूत रूपमा अवलोकन गर्ने । मन वर्तमान अवस्थामा शान्त र स्थिर छ भने मात्रै हामी यसप्रकार यथाभूतदर्शन गर्न सक्छौं ।

 

मनलाई वर्तमान अवस्थामा रहन अभ्यस्त बनाउनका लागि कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना आदि अभ्यास गरिन्छ । शरीर वर्तमान अवस्थामा हुन्छ, स्वास पनि वर्तमान अवस्थामा हुन्छ तर मन हरदम, हरपल अतीत र अनागतमा दौडिरहन्छ । ध्यानको अभ्यासका क्रममा हामीले मनलाई अहिले यहीं स्थिर राख्ने प्रयत्न गर्छौं ।

मनको एउटा विचित्रको स्वभाव हुन्छ – मन या त अतीतको यादमा रुमलिइरहन्छ या भविष्यको कल्पनामा । हिजोका कुरा बितिसके, बितिसकेका अर्थात् प्राणही भइसकेका विषयवस्तुलाई काँधमा बोकेर हिंड्नु बुद्धिमानी होइन, भोलिका कुरा आइसकेकै छैनन्स ती कोरा कल्पनामा रुमलिएर बस्नु पनि युक्तिसङ्गत होइन । न त हामी अतीतमा जिउन सक्छौं न भविष्यमा । हामी केवल वर्तमानमा जिउन सक्छौं । जीवन वर्तमान क्षणमा मात्र सम्भव हुन्छ ।

मन वर्तमान अवस्थामा, अहिले यही क्षणमा शान्त रहन अभ्यस्त छैन । मन वर्तमान अवस्थामा, अहिले यही क्षणमा शान्त रहन अभ्यस्त बनाउनु नै ध्यानको ध्येय हो । यो ध्येय सफल भएको पल अपार शान्ति र आनन्दको अनुभूति हुन्छ । मन केवल विचारहरूको समूह हो । पुराना स्मृति र भावी कल्पनाका विचारहरूको अनवरत प्रवाहका कारण मनको अस्तित्व आभास हुन्छ । पुराना कर्म संस्कारहरूका कारण विचारहरू आकाशमा बादल मडारिए जस्तै आउने जाने गरिरहन्छन् । राग, द्वेष, मोह आदि क्लेशहरूका कारण विचार पैदा हुन्छन् ।

विचारहरूलाई प्रतिक्रिया नगरी साक्षी भावले हेरिरहने अभ्यास विपस्सना हो । यो अभ्यास गहन हुँदै जाँदा विचारहरू पातलिन थाल्छन् र अन्ततः विलीन हुन्छन् । विचार विलीन भएसँगै मन पनि विलीन हुन्छ । विचार विलीन भएसँगै क्लेशहरू विलीन हुन्छन् । क्लेशरहित हुँदा मनमा अपार शान्ति र आनन्दको अनुभूति हुन्छ । वर्तमान अवस्थामा स्थिर रहनु भनेको यही क्षणलाई सम्पूर्ण रूपले जिउनु हो । भोलि वा भविष्यमा राम्रा पलहरू आउनेछन् भनेर पर्खने, कल्पनामा जिउने आदत त्यागेर अहिले यही क्षणमा रमाउने कला सिक्दा मानिस आनन्दले भरपूर हुन थाल्छ ।

बुद्धका अनुसार सबै प्राणीमा बुद्ध स्वभाव अर्थात् शान्ति, आनन्द र करुणा जन्मजात विद्यमान हुन्छ, राग द्वेष आदि आगन्तुक दोषहरू क्षीण हुन थालेपछि बुद्ध स्वभाव स्वतः प्रकट हुन्छ । वर्तमान क्षणमा रहने अभ्यासले साधकलाई जागरणसम्म, बुद्धत्वसम्म पुर्याउँछ ।

ध्यानको धन
वर्तमान क्षणमा रहन सिक्यौं भने हामीले आफ्ना सम्पदाहरू पहिचान गर्नेछौं । आनन्दविभोर हुनुपर्ने, कृतकृत्य, धन्यधन्य हुनुपर्ने हजार–हजार, लाख–लाख कारण हाम्रै वरिपरि हर्दम विद्यमान छन् । तर हाम्रो मन व्यर्थका यादहरूको चिहान उधिनेर बस्ने बानी परेको छ । भविष्यको कल्पनामा पनि मनले उत्तिकै ऊर्जा क्षय गर्छ । मनमा रडाको मच्चाउने विगत या आगतका विचारहरूको धङधङी एक छिनलाई थाती राखेर वरिपरि हेर्न सक्यौं भने हामीले तत्क्षण कृतज्ञता अनुभव गर्नुपर्ने हजार, लाख कारणहरू देख्न समय लाग्दैन ।

पृथ्वी बाहिर अन्तरिक्षमा लाखौँ किलोमिटर परसम्म अक्सिजन छैन । यो प्राणवायु हामी पृथ्वी निवासी जीवहरू सबैले यथेष्ट लिन पाएका छौँ । यसका निम्ति हामी अस्तित्त्वप्रति जति नै कृतज्ञता जाहेर गरे पनि कम हुन्छ । भरपूर स्वास फेर्न पाएकोमा जति नै खुशी भए पनि कम हुन्छ ।

कृतज्ञता मानिसको मनको सबैभन्दा स्वस्थकर भाव हो । कृतज्ञतापूर्ण मनमा आनन्द तत्क्षण दोब्बर हुन्छ । हामीसँग जे छ त्यसप्रति कृतज्ञ हुनासाथ जे छैन त्यो पनि स्वतः हामीतिर आकर्षित हुन्छ । मनमा धन्यवादको भाव पैदा हुनु पहिलो चरण हो, कृतज्ञता प्रकट गर्नु दोस्रो चरण हो । कृतज्ञता अनुभव गर्ने र त्यसलाई अभिव्यक्त गर्ने स्वभावले खुशी महसुस हुन्छ । चेतना विस्तार हुन्छ । हामीले खुशी अरूलाई पनि बाँड्न सक्छौं ।

आफूसँग जे छ त्यही नै बाँड्न सकिन्छ । हाम्रो मनले सर्वे भवन्तु सुखिनः भन्ने चिताउँछ भने तत्क्षण हामी अस्तित्वसँग जोडिन थाल्छौं । मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता चार ब्रह्मविहारमा विचरण गर्ने साधकले अस्तित्वसँग एकाकार महसुस गर्न थाल्छ । खासमा हामी अस्तित्वसँग जोडिएकै छौं, चतुर्ब्रह्मविहारले हामीलाई एकाकार भएको महसुस पनि हुन थाल्छ । हाम्रो बोली गद्गद् हुन थाल्छ, चित्त द्रवीभूत हुन थाल्छ, अहोभावले भरिएको बेलामा अनायासै हर्षका आँसु बहन थाल्छन्, जीवनको लीला देखेर हाँसो उठेर आउँछ । हाम्रा ओठहरूले गीत गाउन थाल्छन्, पाउहरू नृत्य गर्न थाल्छन् । आफूभित्र खजाना फेला पर्दा खुशी छल्छलाउनु स्वाभाविक हो ।

यसप्रकार ध्यानले आफूभित्रको धन साक्षात्कार गराइदिन्छ । आफूभित्रको बुद्धत्व साक्षात्कार गराइदिन्छ । तरुण तपसीले यही ध्यानको धन पाएका थिए । ध्यानको व्यवस्थित अभ्यास गर्ने साधकले यस्तै आनन्दमग्नता अनुभूति गर्छन् । सबै अनित्य छ, दुःख छ तर दुःखी हुने त्यहाँ कोही छैन । विपस्सनाको अभ्यासका क्रममा यो त्रिलक्षण साक्षात्कार हुँदा मानिस रूपान्तरित हुन्छ । ध्यानको धन सबैलाई हासिल होस् । सबैको मङ्गल होस् ।