May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।

Advertisement

बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गरेको प्रहरीको भनाई छ । यद्यपि, उनले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ पनि भेटाएको छ ।

जेनीले फिल्म ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा काम गरेकी उनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । पछिल्लो समय उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनको निधनप्रति फिल्मकर्मीले शोक व्यक्त गरेका छन् । ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो ।