May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

४ खर्ब १४ अर्बको बिटक्वाइनसहित दाजुभाइ गायब

एजेन्सी। आफ्नो बेडरुमबाटै बिटक्वाइनको व्यवसाय सुरु गरेका र अरु मानिसहरुबाट २.५ बिलियन पाउण्ड (४ खर्ब १४ अर्ब रुपैयाँ) बराबरको बिटक्वाइन जम्मा गरेका २ दक्षिण अफ्रिकी दाजुभाइ गायब भएका छन् ।

Advertisement

यी दाजुभाइ गायब भएसँगै यसलाई इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी हुन सक्ने आशंका गरिएको छ । २१ वर्षका रइस र १७ वर्षका अमिर काजीले गएको अप्रिलमा आफूहरुको बिटक्वाइन बेच्ने अनलाइन प्लेटफर्ममा साइबर आक्रमण भएको भनेका थिए । त्यसबेलादेखि उनीहरु बेपत्ता छन् ।

द सनका अनुसार पुलिसले यी दाजुभाइका विषयमा अनुसन्धान सुरु गरेको छ । अहिलेसम्मको अनुसन्धानमा प्राप्त जानकारीअनुसार यी दाजुभाइले आफूहरु हराउनुभन्दा केही हप्ता पहिले नै डर्बनमा रहेको दक्षिण अफ्रिकाकै सबैभन्दा महंगोमध्येको आफ्नो अपार्टमेन्ट ल्याम्बोर्गिनी हराकेन बेचिसकेका थिए ।

त्यसपछि उनीहरुले आफूहरुको बिटक्वाइन कारोबार गर्ने अनलाइन प्लेटफर्म अफ्रिक्रिप्टको ब्याक इण्ड प्रोग्रामबाट कथित साइबर आक्रमणको ७ दिन अघि नै आफ्ना स्टाफहरुलाई हटाएको लगानीकर्ताहरुको कानुन व्यवसायी फर्म हानेकोम अटर्नीजले दावी गरेको छ । त्यसपछि अमिरले लगानीकर्ताहरुलाई यो पैसा उठाउन केही ढिलाइ हुन सक्ने भएकोले अधिकारीहरुलाई खबर नगर्न इमेल पठाएका थिए ।

हराइरहेका यी दाजुभाइले भने आफूहरुले यो रकम ठगी नगरेको दावी गरेका छन् । यी दाजुभाइ सार्वजनिक रुपमा देखिएका छैनन् तर उनीहरुको प्रतिनिधित्व गर्ने कानुन व्यवसायी जोन ओस्थुइजेनले बीबीसीसँग कुरा गर्दै दाजुभाइको प्लेटफर्म ह्याक नै भएको दावी गरे । यद्यपि प्लेटफर्म ह्याक भएपछि दाजुभाइले अधिकारीहरुलाई खबर नगरेको उनले स्वीकार गरे ।

यी दाजुभाइ निकै काँचो उमेरका भएको र उनीहरुसँग जीवनबारे निकै कम अनुभव भएको दावी गर्दै उनले यी दाजुभाइलाई ज्यान मार्नेसम्मको धम्की आएकोले उनीहरु पहिले आफू र आफ्ना परिवारलाई सुरक्षित राख्नेतर्फ लागेको दावी गरे । उनले आफ्नो फर्मले अफ्रिक्रिप्ट ह्याक भएको र दाजुभाइ यो चोरीका पीडित भएको अदालतलाई बुझाउन एक डेमो देखाउने तयारी गरिरहेको बताए ।

अर्कोतर्फ दक्षिण अफ्रिकाको नियामक निकाय फाइनान्सियल सेक्टर कन्डक्ट अथोरिटी (एफएससीए) ले एक प्रेस वक्तव्यमार्फत क्रिप्टो सम्पत्तिहरुको नियमन दक्षिण अफ्रिकामा नहुने बताउँदै एफएससीए अहिले कुनै पनि किसिमको नियामक कारवाही गर्ने अवस्थामा नभएको बताएको छ । वक्तव्यमा अफ्रिक्रिप्टले लगानीकर्तालाई अत्यन्तै धेरै र अविश्वसनीय लाभ दिने अफर गरेको भनिएको छ ।