May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री ओलीको बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो : सांसद शाही

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।

Advertisement

सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले एस्तो बताएकि हुन। सांसद शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाइन् । उनले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गरिन् ।


उनले भनिन् ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युगमा प्रवेश गर्यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनुपरेको छ । जो ठूला अपराधी, भ्रष्ट्राचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्ट्राचार गर्दिन, गर्न पनि दिदिन भन्नुहुन्छ, जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ ।

नागरिकता जस्ता अति महत्वपूर्ण विधेयकहरु थन्किन्छन्, हजारौं नागरिक बाटोमा छन्, संविधान विपरित संवैधानिक परिषद्को अध्यादेश ल्याइन्छ अनि महिला सांसदले महिला हिंसाका विधेयकहरु, अध्यादेशहरु अगाडि ल्याउन दिएन भनेर ढाँटनुहुन्छ, हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यू । तयारै नगरी एकसय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू यो त नौटङ्की नै हो । संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला ।’