May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको तेह्रौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement

यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु परित गर्ने र आर्थिक वर्ष २०७७/०७८ को लागि महालेखापरीषकको कार्यालयको परामर्स तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए । उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए ।

टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु १० करोड र कर्मचारीको तर्फबाट रु दुई करोड गरी रु १२ करोड योगदान गरेको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा रु ३५ अर्ब पाँच करोड बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा रु ४२ अर्ब ९९ करोड राजश्व र रु नौ अर्ब ७५ करोड नाफा भएको बताइएको छ ।