May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

प्रदेश १ मन्त्रिपरिषद विस्तार -पार्टी र गुट बदलेका लाई पुरस्कार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Advertisement

शुक्रबार विस्तार हुने प्रदेश १ मन्त्रिपरिषदमा माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङ, माधव नेपाल समूह त्यागेर ओलीमा प्रवेश गरेका उषाकला राई लगायतले मन्त्रीको जिम्मेवारी पाउने छन । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने भएका साथै माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालय,हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् ।

त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । दुवैजना नयाँ अनुहार हुन् ।स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङबुहाङको माओवादी केन्द्रले सांसद पद खारेजको प्रक्रिया सुरू गरिसकेकोले उनी छ महिनाको लागि मात्र मन्त्री बन्न पाउनेछन्।

यस्तै, सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राई यसअघि माधव नेपाल समूहमा रहे पनि समूह परिवर्तन गर्दै ओली समूहमा लागेकी थिइन्। त्यहीबेला उनलाई मन्त्री बनाउने आश्वासनसहित समूह परिवर्तन गराइएको चर्चा चलेको थियो।