May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

समातेर खोरमा थुनेको बाघ ५ दिनपछि डण्डी भाँचेर जंगल पस्यो

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर ५ चैतमा बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर फेरि जंगल पसेको छ ।

Advertisement

सो बाघले बर्दिया क्षेत्रमा मानिसलाई थुप्रै पटक आक्रमण गरेको सूचनाका आधारमा समातिएको थियो । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गन (बेहोस हुने बन्दुक) प्रहार गरेर समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो ।

वार्डेन शाहका अनुसार त्यसरी राखिएको बाघ मंगलबार बिहान ४ः४५ बजेसम्म खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ । बाघको अनुगमनका लागि निकुञ्जले राखेको सिसी टिभी फूटेजमा बाघले खोरको डन्डी बंगाएर बिहान ६ः१५ तिर खोरबाट निस्किएर आफ्नो प्राकृतिक वासस्थान जंगलमै गएको देखिएको वार्डेन शाहले बताएका छन् ।

शाहले बाघ भागेको भन्न नमिल्ने बताएका छन् । बाघ चिडियाखानाबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा गएको बताउँदै उनले आफुहरुले चाहीँ उसलाई थुनेको र ऊ आफ्नै घर गएको धारणा व्यक्त गरे ।

उक्त खोर आर्थिक वर्ष २०७४÷७५ मा निर्माण गरिएको शाहले बताएका छन् । बाघ निस्किएर आफ्नो प्राकृतिक जन्मस्थल बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको देखिएको पनि शाहले जानकारी दिएका छन् ।

बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको शाहले जानकारी दिएका छन् ।

त्यसका साथै सर्वसाधारणलाई साईकल, मोटरसाईकल, अटो रिक्सा जस्ता सवारी साधानमा यात्रा नगर्न सजग गरिएको पनि उनले बताएका छन् ।