May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

काठमाडौँ हिंडे विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।

Advertisement

जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले विप्लवको तस्बिर सार्वजनिक गर्दै उनी नवलपुरबाट काठमाडौं हिँडेको उल्लेख गरेका छन्। 

‘सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी भर्खरै काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ,’ उनले भनेका छन्।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमतिको विस्तृत विवरण आज हुने विशेष समारोहमा सार्वजनिक गरिने छ ।समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिने छ ।यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।

बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

काठमाडौंमा सार्वजनिक हुनुअघि नै शुक्रबार बिहान विप्लव नवलपुरमा देखिएका हुन्। सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।