May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ ।

Advertisement


प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो ।

उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारत सँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारत तर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने माग समेत गर्नुभयो । नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई भएको कुरा जानकारी गराउनु भएको थियो ।

साथै उहाँहरुले भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने माग समेत राख्नुभएको थियो । यसैगरी उहाँहरुले प्रधानमन्त्री सँग पुर्नवासनगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र शुक्लाफाँटा बन्यजन्तु आरक्षण विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुर्नस्थापना गरिनुपर्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।

भेटमा नेकपाका केन्द्रीय सदस्यएवं राष्ट्रिय सभा सदस्यइन्दु कडरिया विष्टतथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामी लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।