May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

भागरथी हत्या : अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही नगरे नेविसंघद्वारा संघर्षमा उत्रिने चेतावनी

काठमाडौं । नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

Advertisement

गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन नेविसंघले ध्यानाकर्षण गराएको छ । विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा यस्ता घटनाले प्रश्रय पाएको नेविसंघको भनाइ छ ।

नेविसंघले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । नेविसंघ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो । गृहमन्त्री थापाले भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास दिलाएको उहाले बताउनुभयो ।

यस्तै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेकोले भन्दै करिब दोषीको नजिक पुगेका समेत बताउनुभयो । ध्यानाकर्षणका निम्ति धन्यवाद दिदै थापाले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताउनुभयो । यस्तै नेविसंघले अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता नदेखाए नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।