May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

भागरथी हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

काठमाडौँ ।  बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत हिजो बैतडी पुग्नुभएको छ ।

Advertisement

तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको प्रहरीले छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।

दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ । गएको बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीवार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतक किशोरीको शनिवार शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ ।जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानुनी दायरामा ल्याउन माग गरेका छन् । यस्तै राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भएर बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

राष्ट्रिय महिला आयोगले पनि घटनाका दोषीलाई कानुनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आउँदो दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्याउन आयोगले आग्रह गरेको छ ।