लुटपाटको प्रयाङक भिडियो बनाउँदा गोली प्रहार, युट्युबरको मृत्यु

काठमाडौं, २५ माघ ।  अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो ।२० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए ।

उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर आफूतिर आउँदै गरेका युट्युबरलाई साँच्चीकै लुटेरा ठानेर गोली हानेका थिए ।उनले आफूहरुमाथि प्रयाङक भइरहेको थाहा नपाएको र साँच्चीकै लुटेराहरु चक्कु सहित आएको ठानेर प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी समक्ष बयान दिएका छन् ।

घटना शुक्रबार बेलुका साढे ९ बजेतिर भएको हो । घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने युवालाई प्रहरीले कुनै अभियोग लगाएको छैन । गोली चलाउने व्यक्तिलाई बन्दुक बोक्ने अनुमति भए नभएकोबारे पनि केही खुलेको छैन ।

Advertisement