April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

उद्योग वाणिज्य महासंघ प्रदेश – १ को नयाँ कार्यसमिति चयन

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिको नयाँ कार्यसमिति चयन भएको छ ।

Advertisement

झापाको बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले झापाका टीकाराज ढकाललाई निर्विरोध अध्यक्ष चयन गरेको छ । ढकाल झापा उद्योग वाणिज्य संघको तर्फबाट प्रदेश अध्यक्षमा उमेदवार बनेका थिए ।

अध्यक्ष निर्वाचित भएपछि ढकालले कोभिड–१९ को महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरी उद्योगी र व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, महासंघको उपाध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन भएका छन् । एसोसिएटतर्फबाट उपाध्यक्ष बनेका राउत यसअघि पनि उनी सोही पदमा थिए । जिल्ला उपाध्यक्षतर्फ पनि इटहरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भीम पौडेल निर्विरोध चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठी निर्वाचित भएका छन् ।

साथै, जिल्ला, एसोसिएट र वस्तुगत गरी नौ सदस्य पदमा जिल्ला संघमध्येबाट युवराज शाक्य (संखुवासभा), भूपालराज कटुवाल (गौरादह), कुमार भट्टराई (बिर्तामोड), वीरेन्द्रकुमार साह (इनरुवा) र पृतम खड्गी (उर्लाबारी) निर्वाचित भएका छन् ।

यसैगरी, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र सुवास आचार्य, एसोसिएट सदस्यमा रविन दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् ।

यसअघि ११ पुसमा विराटनगरमा अधिवेशन गर्ने घोषणा गरिएको भएतापनि उद्योगी सुशील धनावतको रिटमा उच्च अदालत विराटनगरले साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश दिएपछि स्थगित भएको थियो । धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै १० पुसमा १० गते रिट दर्ता गराएका थिए ।

तर, १५ पुसमा न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि महासंघको अधिवेशन सोमबार बिर्तामोडमा सम्पन्न भएको हो ।