May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरू

काठमाडौँ– राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ ।

Advertisement

हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।

बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।

सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ ।सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ ।

यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।पार्टीभित्र अप्ठ्यारोमा परेपछि यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते दुवै सदनका अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । तर, यसबीचमा प्रतिनिधिसभा नै विघटन भएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्थाका कारण अधिवेशन सुरू हुन लागेको हो । संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’

राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन् ।