May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

मिसेस् नेपाल वर्ल्ड सौन्दर्य प्रतियोगिता हुने

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाका लागि नेपालको सबैभन्दा ठूलो मिसेस् नेपाल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको छ ।

Advertisement

सन् २०१९ मा मिसेस् नेपाल इन्टरनेसनलको पाँचौँ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोना महामारीका कारण स्थगित हुन पुगेको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस् नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस् नेपाल वर्ल्ड र मिसेस् नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना विजेताको छनोट गर्नेछ ।

यसैगरी मिसेस् इन्टरनेसनल नेपाल तथा एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुर आयोजना हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् ।

नेपालले यस वर्ष मिसेस् वर्ल्डमा पहिलो पटक सहभागिता जनाउनेछ । विगतको वर्षमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी  विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्ष मिसेस् नेपालले क्यान्सरविरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाएको छ ।

यसअघि सम्पन्न मिसेस् इन्टरनेसनलमा सविता लामिछाने, अनुपमा राई, सुरुचि पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधि जितिसकेका छन् ।