May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

त्रिविद्वारा बौद्धिक चोरी जाँच्ने सफ्टवेयर प्रयोग

शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो ।

Advertisement

अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक एन्टि ​प्लाजियारिजम चेकिङ सफ्टवेयर प्रयोगमा ल्याएको थियो । विश्वविद्यालयले सात महिनाअघि अमेरिकी कम्पनीबाट ३५ लाख रुपियाँमा यो सफ्टवेयर किनेको हो ।

यो सफ्टवेयर त्रिवि केन्द्रीय पु‚तकालय मातहत रहने गरी विश्वविद्यालयअन्तर्गतका अध्ययन संस्थान, डिन, अनुसन्धान केन्द्र, विभागलगायतमा कार्यालयबाट चलाउन सकिन्छ । विद्यार्थीको परीक्षा तथा अन्य शैक्षिक मूल्याङ्कन गर्ने जिम्मेवारी पाएका ती कार्यालयका प्राध्यापक तथा प्रमुखले यो सफ्टवयर चलाउन सक्छन् ।

सफ्टवेयर सञ्चालनका लागि त्रिविले छ हजार प्रयोगकर्ताको प्रयोग गर्न सक्ने गरी कम्प्युटरमा प्रवेश परिचयपत्र बनाएको छ । यस्ता व्यक्तिले आफू कार्यरत कार्यालयबाट आफूले स्वीकृत गर्नुपर्ने विद्यार्थी, शोधकर्ता तथा लेखकका सामग्री परीक्षण गर्न सक्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।