April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

बंगलादेशबाट किनेको रासायनिक मल आज वीरगञ्ज आइपुग्ने

काठमाडौं । नेपाल र बंगलादेश सरकार (सरकार–सरकारबीच, जीटुजी) सम्झौता अनुसारको पहिलो पटकको रासायनिक मल आज सोमबार साँझसम्म नेपाल आइपुग्ने भएको छ ।

Advertisement

बंगलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा २ हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्ये सोमबार साँझ वा मंगलबार बिहानसम्म २ हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल सोमबार साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्ने छ ।

गत बिहीबार कोलकाताबाट ६ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । सोमबार पुनः रेलमा २ हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा खरिद सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए ।

उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौता अनुसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

जीटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो ।

तयारीस्वरूप गत पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे ३ महिनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको छ ।

कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।