सेयर कारोबारमा उत्साह

काठमाडौं : सेयर बजारमा खरिदबिक्री रकमको तेजी मंगलबार पनि जारी छ । सेयर कारोबारमा उत्साह आइरहँदा बजार सूचक नेप्से सूचक भने निकै अस्थिर देखिएको छ । नेप्से छिनछिनमै घटबढ भइरहेको छ । छिनमै हरियो अनि छिनमै रातो हुँदा आम लगानीकर्ता केही दुविधामा परेको जस्तो पनि देखिन्छ । बजारले केही करेक्सन खोजेजस्तो देखिन्छ ।

Advertisement

तथापि, कारोबार रकममा उत्साह जारी रहेकाले ठूलो करेक्सन नआउने कतिपयको भनाई छ। तर, सेयर बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न नमिल्ने भएकाले लगानीकर्ताले सुरक्षित र योजनाबद्ध रुपमा लगानी निर्णय लिन सक्नुपर्छ । यो समाचार तयार पार्दासम्म (१ः३५ बजे) करिब ८० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सूचक भने झिनो अंकले रातो देखिएको छ । तथापि, सूचक छिनछिनमा हरियो र रातो हुनेक्रम भने जारी छ ।नेप्से तलमाथि हुने क्रम चलिरहँदा पनि बजारमा क्रेता र बिक्रेता भने प्रशस्त भएको देख्न सकिन्छ । कारोबार रकमको निरन्तरता कायमै रहेकाले बजारप्रति लगानीकर्ता उत्साहित भएको अनुमान गर्न सकिन्छ । तर, यही बेला आम लगानीकर्ताले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने बजार सधैं बढ्ने वा घट्नेमात्र गर्दैन ।

तलमाथि गर्ने यसको विशेषता हुन्छ । बढ्दो बजारमा पनि तलमाथि गर्दै यो अघि बढ्छ । घट्दो बजारमा पनि सोही प्रवृत्ति अनुसार तल झर्ने गर्छ । अल्पकालमा बजार तलमाथि गरिरहे पनि दीर्घकालमा भने नेप्सेले माथिल्लो यात्रा तय गर्ने विश्लेषकहरुले बताएका छन् । बजार विस्तारै बुलिस प्रवृत्तिमा अघि बढ्दैछ ।

यसका लागि सूचीकृत कम्पनीको नाफा, लाभांश क्षमता अनि बैंक ब्याजदरले भने सपोर्ट गर्नुपर्ने हुन्छ । दोस्रो त्रैमासमा औसतमा सूचीकृत कम्पनीहरुको नाफा बढ्ने प्रवृत्ति देखिएको छ । कम्पनीहरुको लाभांश अनुपातमा पनि वृद्धि हुँदैछ । यसैगरी, आधार दर सस्तो हुँदै गएकाले कर्जाको ब्याजदर पनि क्रमशः सस्तो हुँदै जाने विश्लेषणहरु भइरहेका छन् ।