तेलको भाउ अचाक्ली बढ्यो, अब गाडी चलाउन सकिँदैनः व्यवसायी

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका छन्।

Advertisement

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले तेलको भाउ पटक(पटक बढाइरहँदा व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन्।

‘असारमा भाडा समायोजन भएपछि नै तेलको भाउ १६ रुपैयाँले बढिसकेको छ। तर हामीले त्यही भाडामा यात्रु ओसारिरहेका छौँ। यो त अत्याचार भयो। थेगिनसक्नु भयो,’ उनले सेतोपाटीसँग भने।

सरकारले कर घटाएर जनतालाई सहुलियत दिनुपर्ने महासचिव सरोजको भनाइ छ। उनले थप प्रश्न गर्दै भने, ‘यति धेरै पटक मूल्य बढाइरहँदा पनि निगम जहिल्यै घाटामा छ। कहिलेसम्म निगम घाटामा जाने हो?’

निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। यससँगै अब पेट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक सय २५ रुपैयाँ कायम छ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर एक सय अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

यति हुँदा समेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।