प्रधानन्यायाधीश राणाको भाइको थप ३० करोडको अवैध सम्पत्ति फेला परेको केसीको दाबी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारसँग थप अवैधानिक सम्पत्ति फेला परेको दाबीसहित गोविन्द केसीले सम्पत्ति शुद्धिकरण विभागमा पुरक निवेदन दिएका छन्।

Advertisement

केसीले राणाका भाइ शमशेर जवराको नाउमा काठमाडौँका विभिन्न स्थानमा थप ३० करोड रुपैयाँको अवैध सम्पत्ति थाहा हुन आएकाले त्यसमाथि पनि छानबिन गर्न निवेदन दिएका हुन्।

यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवारले अवैध रुपमा सम्पत्ति आर्जन गरेको दाबी गर्दै विभागमा गत पुस ११ गते निवेदन दिएका थिए।

मंगलबार विभागमा बुझाएको पुरक निवेदनमा केसीले प्रभुमसँग काठमाडौँ महानगरपालिका वडा नं. २२ मा गैरकानूनी असुली लगायत अन्य अवैध स्रोतको आम्दानीबाट २०७६ मंसिर २४ मा खरिद भएको कि.नं. १०८५ को आठ आना घर जग्गा, २०७८ असोज २० मा गोठाटार ८ को कि.नं. १२४ र ३३ को साढ़े तीन रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँ भन्दा बढी मूल्यका घर जग्गाहरु रहेको तथ्य अवगत हुन आएको भन्दै निवेदन दिएका हुन्।

केसीले उजुरीमा भनेका छन्, केसीले उजुरीमा भनेका छन्, ‘…३० करोड रुपैयाँ भन्दा बढी मूल्यका घर जग्गाहरु रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरु, नातेदारहरु तथा भ्रष्ट गिरोहमा आबद्ध सदस्यहरुका सम्बन्धमा समेत छानवीन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदै सम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध गरिन्छ।’

अभियान्ता केसीले दिएको निवेदनका आधारमा विभागले राणा परिवारको सम्पत्ति छानबिन गरिरहेका जनाएको छ।