May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

उत्पादनमूलक उद्योगलाई प्राथमिकता- अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभयो । उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।”

Advertisement

उहाँले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गर्नुभयो । हालसम्म ४।७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी दिनुभयो । मन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको बताउँदै मन्त्री शर्माले बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरिएको र केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गर्नुभयो ।

पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उहाँले बाटो छोटिएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्ने उल्ले्ख गर्नुभयो । कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको जानकारी गराउँदै अर्थमन्त्री शर्माले साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकले नाफामुखी भएर लागू गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिड विरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको मारमा परेका व्यवसायी १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गर्नुभयो ।