May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विज्ञको सुझाव अनुरुप काम गर्छु: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति जारी गर्न अर्थ मन्त्रालयबाट रोकिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट गरेका छन् ।

Advertisement

आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको बताए ।

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए ।

श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको स्पष्ट पारे ।

‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवम्  तपाईंहरु  सबैको सुझाव र जनताको आवश्यकता अनुरुप अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु,’ मन्त्री शर्माले भने ।