May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

इसेवा र इन्फो डेभलपर्सबीच सम्झौता, सहकारी र माइक्रोफाइनान्स पनि विद्युतीय भुक्तानीमा जोडिए

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा र सफ्टवेयर निर्माता कम्पनी इन्फो डेभलपर्सबीच सम्झौता भएको छ। सहकारी तथा माइक्रोफाइनान्सलाई पनि विद्युतीय भुक्तानीको चक्रमा जोड्ने उदेश्यले सम्झौता भएको हो ।

Advertisement

अहिले पनि ९० प्रतिशतभन्दा धेरै रकम नगदबाटै कारोबार भइरहेको सापकोटाले बताएका छन् । ‘यसलाई डिजिटल बनाउन सहकारी र माइक्रोफाइनान्सको भूमिका ठूलो छ । यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं,’ सापकोटाले भने ।

यस्तै, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुने बताएका छन् ।

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरिरहेका सहकारी तथा माइक्रोफाइनान्सहरु अब डिजिटल भुक्तानीको चक्रमा जोडिने छन् । उनीहरुले अब कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा लिन सक्ने इसेवाले जनाएको छ ।

यसले सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारीको खाताबाट अर्को सहकारीको खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउने इसेवाले जनाएको छ । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यहरुले बैंकका ग्राहकले जस्तै विद्युतीय भुक्तानीका विभिन्न सुविधाहरु उपयोग गर्न पाउने बताइएको छ ।

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको कम्पनीले जनाएको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेको कम्पनीले जनाएको छ ।

इन्फो डेभलपर्स भने सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था हो । सूचना प्रविधिसँग १७ वर्षदेखि कम्पनीले सहकारी तथा माइक्रोफाइनान्सलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ र ट्याब्लेट बैंकिङमार्फत अनलाइन र अफलाइन ब्रान्चलेस बैंकिङ सेवा र क्रेडिट युनियन, बैंक र माइक्रोफाइनान्स्का लागि सोलुसन समेत प्रदान गर्दै आएको बताइएको छ ।