May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अमेरिकासँग आर्थिक कूटनीति सुदृढ मुख्य प्राथमिकता :राजदूत डा. खतिवडा

काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धी गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।

Advertisement

अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले जानकारी गराएका छन् । अन्तक्र्रियामा नेपाल उद्योग परिसंघले अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको बताए । मोरका अनुसार डा. खतिवडाको अनुभवबाट राजदूतको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पुँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।

अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्रा्एर अर्थतन्त्रको आधुनिकिकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गरेका छन् ।

राष्ट्रिय औद्योगिकीकरणको विस्तारका लागि “नेपालमा उत्पादन गरौं (विल्ड इन नेपाल)” अभियानलाई परिसंघले अघि बढाइएको मोरले जानकारी गराएका छन् । राजदूत डा. खतिवडासँगको अन्तक्र्रियामा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डेले पनि आर्थिक कुटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा राजदूत खतिवडाको सक्रियता बढ्ने विश्वास लिएका छन् ।