इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडानम्बर ४ मा रहेको इन्द्रायणी मन्दिरबाट शुक्रबार सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी भएका छन् । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको हो । यस्तै मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, सालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको नाच गुरु श्रेष्ठले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै थप अनुसन्धान सुरु भएको बताए । चोरी भएका सामान र गिरोहको खोजी भइरहेको उनको भनाइ छ ।

Advertisement