May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

खाँदबारीको बसपार्कबाट रुद्राक्ष चेप्ने क्लिपसहित अवैध औषधि बरामद

प्रहरीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

Advertisement

प्रहरीको नियमित गस्तीका क्रममा सडकछेउमा बोरा थुपारिएको भेटिएको र बोरा खोलेर हेर्दा विभिन्न उक्त सामग्री फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । मङ्गलबार बिहान सडकछेउमा राखिएको बोराभित्र नौ हजार ५२० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधि ११६ प्याकेट, केएचटुपिओ नामको औषधि १५ प्याकेट, सिलिलोङ नामको औषधि २० बोतल र वाटरपम्प लेखिएको औजार एक थान फेला परेको हो । सबै सामग्री भन्सार छलेर ल्याइएको हुनसक्ने प्रहरीले जनाएको छ ।

उक्त सामानका लागि हालसम्म कसैले पनि दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बरामद भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाइँदै आएको छ । क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किने गरेको छ ।

त्यस्तै रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधि छर्किने गरिएको छ । चेप्टो र चिल्लो रुद्राक्षको दाना चिनियाँ व्यापारीको रोजाइमा पर्दै आएको छ । सङ्खुवासभा प्रहरीले यसअघि खाँदबारी–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिकसहित अवैध औषधि पक्राउ गरेको थियो । पछिल्लो समय रुद्राक्षका कारोबारका लागि चिनियाँ नागरिक सङ्खुवासभा र भोजपुर आउने गरेका छन् ।