May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

टनकपूरमा दुखेको मन

प्रदीप सापकोटा

Advertisement

कन्चनपूरको महेन्द्रनगरमा छौं हामी अर्थात विभिन्न जिल्लाका केही दर्जन रेडक्रसकर्मीहरु सहित साथमा छन् नेपाल रेडक्रस सोसाइटी केन्द्रीय अध्यक्ष रमेश कुमार शर्मा,इन्दिरा जोशी केन्द्रिय उपाध्यक्ष,केन्द्रिय सदस्य भक्त खवास,विष्णुहरी देवकोटा । समुदायमा आधारित पूर्व तयारी कार्यक्रम लागू भएका जिल्लाका सभापति वा प्रतिनिधि र कार्यक्रम लागू भएका समुदायका सामुदायिक कार्यकर्ता तथा जिल्ला तहका सामुदायिक प्रशिक्षकहरुको समिक्षा बैठक प्रारम्भ भयो । सबैले आ–आफ्नो भोगाई र अनुभूति सहित कार्यक्रमको प्रगति पस्के ।

मैले पनि आफ्नो तर्फबाट संक्षिप्त जिल्लागत र समुदायको बारेमा रिर्पाेटिग गरें । साथै द्धन्द्ध र यसले कार्यक्रमको प्रगतिमा पुर्याएको असरको बारेमा समेत आफ्ना कुरा राँखे । आफ्नो प्रतिवेदन सकाएर अन्त्यमा अलिकति कुरा राख्ने अनुमति मागे । विभिन्न ११ जिल्लाका सहभागी जमघट भएको महत्वपुर्ण अवसर भएको र कन्चनपूरमा फेरी आउन सकिने नसकिने कुनै निश्चित नभएकोले चर्चाको शिखरमा रहेको टनकपूर बाँध हेर्ने अबसर नेपाल रेडक्रस सासाइटीले जुराइदेओस भनेर अनुरोध गरें । सहभागी सबैले मेरो कुराको समर्थनमा ताली पिटे । मैले बोल्दै गर्दा केन्द्रिय अध्यक्षले बिचमै रोकेर प्रदीपको माग सम्बोधन गरिनेछ भनेर जानकारी गराए ।

यो कुराले खुशीको विजुली चम्क्यो मेरो आँखामा । रहर पुरा हुने भएर होला मनभित्र उज्यालो छायो । भोली बिहान नास्ता खाएर ७ बजे त्यसतर्फ प्रस्थान गरिने जानकारी कन्चनपूर रेडक्रसका सभापति गणेश शमसेर जवराले गराए । म युद्ध जितेको सिपाही जस्तो थिंए ।भोली टनकपूरबाट फर्केपछि खाना खाएर अपरान्ह नवलपरासीका सिविडिपी कार्यक्रम लागू भएका समुदायको अवलोकन भ्रमणको लागि यात्रा तय हुने जानकारी राजेन्द्र रोकाले हामीलाई गराए।

विहान सखारै उठें,टयूकलको पानी तानेर नुहाएँ । सबैजनाले विहानको नास्ता गरेउँ । हाम्रो निम्ति स्थानीय भाडाको बस लिइएको रहेछ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको कार्यक्रमको नाम सहितको ब्यानर तयारी गरिएको रहेछ । गाडीको अगाडी ब्यानर राखेर हामी अगाडी बढ्छौ । बाटोमा भिमदत्त पन्तको शालिक देखिन्छ । मेरो शीरनत हुन्छ । उनको शालिक पट्टि झुकेर नमस्कार गरें मैले । भीमदत्त पन्त राजनीतिक चेतना जगाउने किसानका अगुवा । उतिबेला नै उनले कि त जोत हलो,कि त छोड थलो,होइन भने अब हुने छैन् भलो भन्ने धारणा सहित आन्दोलनमा होमिएका थिए। मैले मेरै हजुरबाबाट उनको बारेमा सुनेको थिंए उनी जातपात छुवाछुतका विरोधी पनि थिए भनेर । त्यसैले उनले दलितको घरमा खाना खान्थे रे । उनले पाठशाला थुप्रै खोलेका थिए भन्ने पनि पढेंको थिए मैले ।

भारत छोड आन्दोलनमा पक्राउ परि करिव दुई बर्ष भारतमा जेल पनि परेका उनी वास्तबमै उतिबेलाका एक क्रान्तिकारी योद्धा थिए । अन्याय र भेदभाव पटक्कै नसहने स्वभावका पन्त जसको जोत उसको पोत अभियानका अगुवा रहेछन् । उनलाई वि.सं.२०१० सालमा पक्राउ गरी टाउको काटी डडेल्धुरामा एक चोकमा झुड्याई जीवन लिला समाप्त पारिएको कुरा इतिहासमा पढ्न पाइन्छ । साँच्चै क्रान्तिकारी ब्यक्तित्वको शालिक एकटकले हेर्दै उनको उच्च योगदान प्रति नतमस्तक बन्दै सतिले सरापेको मेरो देशको दुव्यवस्था सम्झदा मनै चिमोटियो मेरो ।

नेपाल तथा भारतबीच वि.सं.२०५२ माघ २९ गते महाकाली नदीको टनकपूर सम्बन्धमा नेपालका प्रधानमंत्री शेर बहादुर देउवा र भारतका प्रधानमन्त्री पी भी नरसिंह राववीच महाकाली सन्धि भएको थियो । त्यतिवेला नेपालका राजनीतिक दलका विच सन्धि कि समझदारी भन्ने विषयमा ठूलै हंगामा पिटिएको,कैयन दिन संसद अवरुद्ध भएको र पछि सर्बाेच्च अदालतले यो विषयमा मुद्धा परि फैसला गरेको थियो। पहिले राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा इन्डियाले शारदा बाँध निर्माण गर्न नेपालको भूमि सट्टापट्टा गरी भारतलाई दिएका थिए रे भन्ने मैले कतै पढेको थिए । महाकाली नदी साझा हो पानी आधा आधा हो को नाराले नेपालका सडकदेखि सदनसम्म घन्केका थिए महिनौं प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला हुँदा ।

पछि अदालतले संसदवाट पारित गर्नुपर्ने आदेश जारी गरेपछि संसदवाट बहुमतले पास गरिएको थियो । बास्तबमा सामान्य कखरा पढेका मान्छेले बुझ्ने कुरा के हो भने टनकपूर ब्यारेज बनाएबाट नेपाली सीमा अतिक्रमण भएको देखियो । हामी जब त्यहाँ पुग्यौं त्यहाँको दृष्यले मेरो यौवनको जोश आक्रोशमा बदलियो । पीडाले मन भत्भति पोल्यो । नेपाली भुभाग जलमग्न हुने अवस्था देखेर दिक्क लाग्यो । हेर्दा लाग्थ्यो भारतले एकतर्फी रुपमा आफ्नो सीमानामा बाँध बनाएर नेपाली भूभाग जलमग्न पारेको छ । २०५० साल मंसिर ३० गते सर्बाेच्च अदालतवाट नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन आदेश जारी भएको मलाई थाहा थियो । म पनि क्याम्पस पढ्दा जुलुसमा सहभागी भएको थिंए ।
आज यहाँको दुरावस्था देखेर चिन्तित बनें ।

म मात्र होइन आज यो भ्रमण दलमा भएका सबैको मन दुखेको हुनुपर्छ । अनुभूतिका आँकुराहरु मनभरीबाट टुसाइसके । यहाँको दृष्यले भावभित्र बुनिएका कल्पनाहरु कति छन् तरङ्गित भएर बसेका ! महाकाली पारीका चाँदनी र दोधारा गाविसलाई दिनुपर्ने पानी पनि दिएको देखिएन । स्थानीयहरुका अनुसार जब मौसम परिवर्तन हुन्छ फरक ब्यवहार भारतियतर्फबाट हुन्छ । हिंउदमा माछाको दुवाली सुकाएजस्तै गरेर सबै पानी लैजाने अनि जब नदीमा पानीको बहाव वढ्न थाल्छ तब बाँधका ढोकाहरु खोलेर नेपालको कन्चनपूर क्षेत्र डुवान पार्ने ! कस्तो बिस्तारवादी नीति भारतको । आफ्ना जिज्ञासु एक जोडी आँखाले पर परसम्म नियालें । ति स्थानीयको भनाईले लामो निस्वास लिन्छु म । मौसम पनि धुमिल छ आज । मेरो मथिंगलमा थुप्रै प्रश्नहरु उव्जिए । किन दिंदैन चाँदनी र दोधारा गाविसको करिब ३५ सय हेक्टर जमिनमा सिचाइको लागि पानी भारत ? सम्झौताको सहि परिपालना किन गर्दैन भारत?

टनकपूर बाँध ब्रम्हदेवदेखि टनकपूरको पुलसम्म देखिन्छ । बाँध नेपाली भूभाग प्रयोग गरि बनाइएको छ । करिब ५सय ७७ मिटर लम्बाईको भूमी र त्यसमा भएका प्राकृतिक श्रोत र साधनमा नेपालले निर्वाध उपभोग गर्न पाँउने भनि हस्ताक्षर भए पनि नेपालले खासै उपभोग गर्न पाए जस्तो लाग्दैन । म एकटकले नियालीरहेछु टनकपूर बाँधको डिलमा । नियालिरहेछु बाँध । पर देखिन्छन् एसएसआइबीका जवानहरु तैनाथ । मेरो सामान्य बुझाईले भन्यो सीमा नदीमा बनेका संरचनाबाट दुबै देशले हरेक कुराको उपभोग आधाआधी हकको आधारमा गर्न पाउनुपर्ने हो । सायद अन्तराष्ट्रिय सीमा सिद्धान्तले पनि त्यही भन्छ क्यार ! तर यहाँ त अहँ,नेपाल त ठगिएको देख्छु म । अनि किन नलेखुन आख्यानकार नारायण ढकालले शोकमग्न यात्रीहरु । हुनुपर्ने हो सार्वभौमसत्ता धनी गरिव वा ठूलो सानो दुवै देशको उस्तै । तर अहँ कहाँ ब्यवहारमा त्यस्तो हुन्थ्यो । मत्स्य न्याय हुने रहेछ ब्यवहारमा त ।

मैले यी दुष्यलाई आफ्नो क्यामरामा कैद गर्न थालें । थाहै नपाई भारतीय प्रहरी आएर मेरो क्यामरा खोस्यो । मैले क्यामरा फिर्ताको लागि याचना गरें । तर उ त जसरी बगडेको हातमा परेको खसीलाई बगडेले जस्तो दुब्र्यवहार गर्छ त्यस्तै पो देखियो । मैले अनुनय विनय गरें । क्षमा मागें । मेरा हर प्रयासहरु असफलतामा अनुवाद भए । मेरो याचनाले उसको मनमा रत्तिभर करुणा उब्जिएन । कहाँ दिन्थ्यो क्यामरा ! अन्यौलको कालो तुवाँलो भित्र हराएँ म । मेरो एकमात्र शोख थियो क्यामरामा विभिन्न दृश्यहरु कैद गर्नु । रेडक्रसका अध्यक्ष रमेश कुमार शर्माले के के कुरा गर्नुभयो कुन्नी ,त्यसपछि दियो तर त्यो लोड गरेको रिल भने झिकेर त्यहीं पानीमा फालिदियो । त्यो भारतिय प्रहरीलाई विवेक र मानवीय संवेदना भन्ने कुरा कुन चरीको नाम हो के थाहा ? मैले टुलुटुलु हेर्नुको विकल्प थिएन । अहँ पटक्कै पाइन प्रेम र स्नेहको न्यानो तकिया त्यहाँ,जुन तापेर न्यानोपनको महशुस गर्न पाइयोस । यात्राको क्रममा कैद गरिएका सबै यादगर पलहरु त्यही टनकपूरको पानीमा तैरिएर रहे ।

हाम्रो राष्ट्रियतामाथिको नग्न वलात्कार प्रतिकृयाविहिन भएर हेर्नु बाहेक प्रतिकार गर्ने सामथ्र्य म बबुरोमा कहाँ थियो र ! अघि यहाँ आउँदासम्मको उत्साह त्यहाँ बाँधिएको बाँध र भारतीय प्रहरीको ब्यवहारले टनकपूरको पानी जस्तै चिसियो । मेरो मनको चहलपहल दिग्दारीमा बदलियो । दुख्यो मन मेरो टनकपूरमा । युगद्रष्टा नायक कोइ जन्मेन यो देशमा । सबै आत्मसमर्पण गर्नेहरुको लाइनमा लामवद्ध भए । सत्तामा अधिकार जमाउन जे पनि गर्नेहरुको बाहुल्यता भएको कठै मेरो देश । अरुको भर पर्ने हाम्रो प्रवृत्ति ! अरुको उन्नति र प्रगतिमा जम्ने हाम्रो चरित्र ! राम्रा कुराको अहँ सिको अलिकति नि छैन् । आफ्ना कमजोरीप्रति आँखा चिम्लिँदा यसको असर देश र हामी जनताले बेहोर्नुपरेको तितो यथार्थ भोग्दैछु म आज ।

नेपाली राजनीति,सत्ता सञ्चालकहरु दुरदर्शी नहुनुको परिणाम नेपाली जनताले दुःख पाएको हो । यो मेरो मनको ठम्याई हो । मनमा आक्रोश पो पैदा भो त । राष्ट्रियताको भाव राज्य सञ्चालनको बागडोर समाउनेहरुमा मरेछ यो निष्कर्षमा पुगें म । धेरै पीडा सास्तीहरु खाएर बसेका हाम्रा टनकपूर वरपर बस्ने नेपाली जनताहरुको जीवन देखेर मन आन्दोलित भयो मेरो । आक्रोसका छालहरु मनभरी उर्लिए । तर बबुरो फुच्चे म के पो गर्न सक्थें र !

सायद हाम्रो टोलीका सदस्य त्यहाँको बस्तुस्थितिको दृष्य तथा भारतीय पुलिसको तुच्छ ब्यवहारमा दुःखी नहुने कोइ भएनन् होला । एकदिन एकाध घण्टा व्यतित गर्ने हामीलाई त त्यस्तो भो । दिनहुँ,पलपलमा त्यो त्रासद मनस्थिति बोकेर वाँच्नुको पीडा कहाँ यहाँ शब्दमा ब्यक्त होला र ! चुपचाप गाडी चढें मुहारमा बादल पार्दै अरुहरुसँगै लाचारीको भारी बोकेर । अनि हामी फर्कियौं कन्चनपूर मनभरी अपमानका यातनाका डामहरु बोकेर । पर डाँडामाथि हेरें हुस्सु पनि उदास मन लिएर हामीलाई हेर्दै निराशाको सुस्केरा फेर्दै थियो ।

 

[email protected]