May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

“घाउ आफैँलाई दुख्छ” पुस्तक लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमवीच ‘घाउ आफैँलाई दुख्छ’ पुस्तक लोकार्पण भयो । पूर्व सचिव गोपी मैनालीबाट लिखित निबन्ध सङ्ग्रह कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् एवं प्राज्ञ दिनेशराज पन्तले पुस्तक लोकार्पण गर्नुभयो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकै कोषाध्यक्ष रामकुमार पण्डितले राखेका थिए ।

Advertisement

कार्यक्रमका अतिथि विजय चालिसेले पुस्तकको विषयमा पाठकीय धारणा राख्नुभयो । प्रशासनिक कार्यदक्षताजस्तै पुस्तकका निबन्धहरू उत्कृष्ट रहेको उनको भनाइ थियो । समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले पुस्तक समीक्षा गर्दै गोपी मैनालीको निबन्धमा उनको आफ्नोपन छ, साहित्यमा आफ्नोपन हुनुको महत्व हुन्छ भन्ने भनाइ राख्दै कृतिकारलाई बधाई दिनुभयो ।

एक से एक वरिष्ठ साहित्यकारहरू उपस्थित भएको कार्यक्रममा अतिथिको भूमिकामा धेरै हस्तिहरू थिए । पूर्व मुख्य सचिव साहित्यकार बिमल प्र. कोइराला विशेष अतिथिको भूमिका निर्वाह गर्दै लेखकलाई बधाईज्ञापन गर्नुभयो । निबन्धकार गोपी मैनालीले आफूले जागिरको क्रममा सङ्गालेका अनुभवहरूलाई निबन्धको रूप दिएको र लोकार्पणपछि यो पुस्तक सबैको भएको भनाइ राख्नुभयो ।

कार्यक्रमका अतिथिहरू हरिभक्त सिग्देल, महेश प्रसाईँ, युवराज मैनाली, नरेन्द्रराज पौडेल, लीला लुइँटेल, प्रा. डा. खेम कोइराला बन्धु, टीकाराम यात्री, प्रा.डा. तुलप्रसाद कोइराला, दार्शनिक तथा योग साधक डा. चिन्तामणि योगी, प्रह्लाद पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गरेका थिए ।

तीस वटा निबन्ध सङ्ग्रहीत पुस्तकको मूल्य रु. चार सय राखिएको छ भने पुस्तक प्रकाशन सन्तोषी माता सञ्चार प्रा.लि.ले गरेको हो । कार्यक्रमको समापन गर्दै सभापति बाजुराम पौडेलले सुरभिले आख्यान वाचन कार्यक्रम नियमित गर्दै आइरहेको सन्र्दभमा गोपी मैनालीको निबन्ध सङ्ग्रह लोकार्पण गर्न पाउनु गौरवको विषय बताउनु भयो ।