April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

भारतको विहार राज्यसँग सीमा जोडिएको दक्षिणी झापाको केचना नाकामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को आज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को सीमालगायत शान्तिसुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि प्रदेश सरकारको सहयोगमा नवनिर्मित बिओपी भवनले सशस्त्र प्रहरीलाई काम गर्न थप हौसला प्रदान हुने अपेक्षा रहेको बताउनुभयो ।

प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आव ०७६÷७७ मा विनियोजन गरेको रु एक करोड ४२ लाख एक हजारमा कचनकवल गाउँपालिका–४ मा बिओपी भवनको निर्माण गरिएको हो । यसअघि सामुदायिक वनभित्र अस्थायी संरचना बनाएर सशस्त्र प्रहरीलाई राखिएको थियो । बिओपी भवन निर्माणका लागि स्वामी नारायण निर्माण सेवा धरानले ठेक्का लिएको थियो ।

उहाँले बिओपी निर्माणका लागि चार कट्ठा १४ धुर जग्गा निःशुल्क प्रदान गर्ने रघुनन्दन गणेश र उहाँकी पत्नी प्रतिमाकुमारी गणेशलगायत भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गर्नुभएको थियो । बिओपीमा कार्यालय भवन, गार्ड क्वार्टर, ब्यारेक, भान्सा, शौचालय, गेटलगायत निर्माण गरिएको छ । हाल बिओपी केचनामा इन्स्पेक्टर भक्त थापासहित ४५ सशस्त्र प्रहरी कार्यरत छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं १ बराहवाहिनी मुख्यालय सुनसरीका डिआइजी कमल गिरीले यस प्रदेशमा भारततर्फ ५० र चीनतर्फ दुईवटा गरी जम्मा ५२ वटा बिओपी स्थापना भइसकेको बताउनुभयो । झापामा १८ वटा बिओपी र २८ वटा एफओपी स्थापना गरी सशस्त्रले सीमा सुरक्षा गरिरहेको उहाँको भनाइ छ ।