एमसीसी पत्र प्रकरण : अप्ठेरोमा प्रचण्ड, आफ्नैलाई दिए धोका

काठमाडौंः पार्टीभित्र सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठेरोमा परेका छन्। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षर छ।

Advertisement

आश्चार्य कुरा के हो भने आफैँले गरेको हस्ताक्षरको स्वामित्व किन लिन चाहँदैनन् प्रचण्ड? सार्वजनिकरुपमा एमसीसी संसोधन नगरी पारित गर्न नसकिने रटान दिँदै आएका प्रचण्डले आफ्नै हस्ताक्षरको स्वामित्व नलिएर कार्यकर्ता माझमात्र होइन, पार्टीका आफ्नै सहयात्रीहरुको समेत विश्वास गुमाउँदै गएका छन्।

बाहिर एकथरी अभिव्यक्ति दिने, तर भित्रभित्रै सत्ता गठबन्धनमा टिक्न र अमेरिकीहरुलाई नचिढ्याउने रणनीतिले प्रचण्ड अप्ठेरोमा परेका छन्। पार्टीभित्र पर्याप्त छलफल नगरी हरेक निर्णय आफू केन्द्रीत बनाउन खोज्दा प्रचण्ड प्रायः विवादमा आउँछन्। एमसीसी मुख्यालयमा पठाएको पत्रमा हस्ताक्षर गर्दासमेत उनले आफ्नो पार्टीमा छलफल गर्न आवश्यक ठानेनन्। त्यही कारण प्रचण्ड फेरि विवादमा तानिए। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको संयुक्त हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि उनको चरित्र र महत्वकांक्षाबारे फेरि एकपटक चर्चा सुरु भएको छ।

प्रचण्डले किन आफ्नै हस्ताक्षरको स्वामित्व लिन तयार भएनन्? यसको जवाफ कुनै दिन उनले देलान्। तर यस्तो प्रवृतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीको छबि नमज्जाले धुमिलिएको छ। एमसीसीको विरोधमा बाहिर जति चर्को भाषण गरे पनि प्रचण्ड एमसीसी पारित गर्न हतारिएको देखिन्छ। एमसीसी पास गर्न प्रचण्डले देखाएको हतारोपनलाई उनले हस्ताक्षर गरेको पत्रले पुष्टि गरिसकेको छ। विश्लेषकहरुमा अनुसार, प्रचण्डसँग अब एकमात्र विकल्प छ, त्यो हो आफ्नो हस्ताक्षरको स्वामित्व लिने र एमसीसी पास गराउने। त्यसका लागि प्रचण्डले अहिले फेस सेभिङ खोजिरहेका छन्।

जनताको विश्वास जित्न प्रचण्डले आफ्नो हस्ताक्षरको स्वामित्व लिनुपर्ने र एमसीसीलाई पारित गर्न अघि बढाउनुपर्ने विश्लेषकको सुझाव छ। राजनीतिक विश्लेषक अरुण सुवेदीले प्रचण्डले एमसीसी मुख्यालयमा पठाएको पत्रको स्वामित्व लिनुपर्ने बताए। एमसीसी पास गर्नुपर्ने प्रतिबद्धतासहितको पत्र पठाउनु गलत नभएको विश्लेषक सुवेदीको भनाइ छ। ‘प्रचण्डले आफ्नै हस्ताक्षरको स्वामित्व लिन नसक्नुचाँहि उनको गलत नियत हो,’ राजनीतिक विश्लेषक सुवेदीले अन्नपूर्णसँग भने, ‘पत्रको स्वामित्व नलिने हो भने प्रचण्डले आत्मालोचनासहित जनतासँग माफी माग्नुपर्छ।’

आफ्नो हस्ताक्षरको स्वामित्व लिएनन् भने उनले निभाएको दोहोर चरित्रबाट आम नेपाली जनताले समेत अब प्रचण्डलाई विश्वास गर्न कठिन हुने देखिएको छ। छलछाम र ढाँटको राजनीतिबाट वाक्क बनेका नेपाली जनताहरु नेताहरुबाट थप धोका सहनसक्ने अवस्थामा छैनन्। कार्यकर्ता र जनतालाई प्रचण्डले ढाँटे नै, तर उनले सँगै जनयुद्धबाट नाफाको जिन्दगी लिएर आएका आफ्नै सहयात्रीहरुसँग समेत झुट बोले। प्रचण्डलाई नेता मानेर हिँडेका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोख्रेल, लेखनाथ न्यौपानेहरुसँग समेत उनले सत्य बोल्न सकेनन्। पत्र सार्वजनिक भएपछि उनीहरुले त्यसको विरोध गर्दै आगामी केन्द्रीय कमिटीको बैठकमा कुरा राख्ने बताएका छन्। पत्रबारे असहमति जनाउने कतिपय नेताले प्रतिक्रियासमेत दिएका छैनन्। प्रतिक्रिया नदिने तर प्रचण्ड प्रवृत्तिको विरोध गर्ने नेताहरुको कमी छैन माओवादी केन्द्रमा। पत्र सार्वजनिकपछि दोहोरो चरित्र निभाएको भन्दै माओवादी नेताहरु प्रचण्डसँग आक्रोसित छन्।

तीनै तहको निर्वाचन गराउन सरकार जुटेको छ यतिबेता। कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको नेतृत्व गरेका छन्। त्यसको बलिया सहयात्री प्रचण्ड पनि हुन्। मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रचण्डले खेलेको अहम् भूमिकाको कसैले अस्विकार गर्न सक्दैन। तर बढ्दै गएको महत्वकांक्षाले प्रचण्डको परसम्मको राजनीतिक यात्रा धान्ने देखिँदैन। यसको अर्थ, अब हुने तीन तहको निर्वाचनमा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रलाई निकै सकसपूर्ण हुने देखिएको छ। माओवादीको भूगोल विगतको तुलनामा नराम्रोसँग बिग्रिएको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए।

‘गठबन्धन कायम रहिरहे केही सम्भावना होला तर गठबन्धन टुटेर एक्लै निर्वाचनमा जाने अवस्था आए माओवादी केन्द्रले नराम्ररी पराजय भोग्ने निश्चितप्रायः छ,’ ती केन्द्रीय सदस्यले भने। बलियो आधार बनाएर बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न माओवादी केन्द्रलाई थप सकसपूर्ण देखिएको छ।

नेकपा माओवादी केन्द्रका नेताहरुमा आएको विचलन, आर्थिक अनुशासनहीनता, आफ्ना कार्यकर्ताप्रति अनुत्तरदायी र नेताहरुमा क्रमसः बढेको अहम् र अहंकारका कारण उनीहरुलाई आफ्नै कार्यकर्ताले छाड्दै गएका छन्। आफ्नै पार्टीका नेता र कार्यकर्तामाथि पार्टी अध्यक्ष प्रचण्डले गरेको राजनीतिक तिकडमबाजी र ढुलमुले नीतिले माओवादी केन्द्र जनतामाझ कमजोर हुँदै गएको  छ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्टकल्याण्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्ड र आफूले संयुक्त हस्ताक्षर गरेर एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र एमसीसी बोर्डलाई पठाएको बताएका थिए। त्यसबेला प्रचण्डले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको खुलेर खण्डन गरेका थिए।