ग्रामीण महिला उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित मेलमिलाप एकृकीत महिला कृषक समूहले सामूहिक रुपमा तरकारी खेती, अलैँची खेती र माछापालन गर्दै आएको छ ।

Advertisement

दस महिला मिलेर दुई वर्र्षअघि देखि सुरु गरेको एकीकृत कृषक समूह अहिले सफल बन्दै गएको छ । सोही व्यवसाय सफल बन्नमा गलकोट नगरपालिकामा सञ्चालित ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम’को ठूलो हात रहेको समूहका अध्यक्ष सुमित्रा कार्की बताउनुभयो ।

सोही समूहका अध्यक्ष कार्की अहिले गलकोट नगरपालिकाले घोषणा गरेको १० उत्कृष्ट महिला उद्यममा पर्न सफल हुनुभएको छ । “नगर पालिकामा सञ्चालित ग्रामीण महिला उद्यम कार्यक्रमले हामीलाई एक वर्षमा धेरै अगाडि बढ्न सफल बनायो, उद्यम मात्रै खोलेर हुँदो रहेनछ, त्यस्को व्यावसायिकीकरण, हिसाबकिताब, व्यवस्थापन र बजारीकरणको निकै महत्व हुँदो रहेछ”, उत्कृष्ट महिला उद्यमी कार्कीले भन्नुभयो, “ग्रामीण क्षेत्रमा लामो समयदेखि उद्यम सञ्चालन गर्दै आएका तर व्यावसायिकीकरण नभएका उद्यमलाई यो कार्यक्रम कोसेढुङ्गा बन्न सफल भएको छ ।”

ग्रामीण महिलाहरुले लामो समयदेखि आफ्नो उद्यम गर्दै आएको भए पनि उद्यमीहरुले व्यावसायिक चुस्तता, भावी योजना र लक्ष्यका विषयमा भने जानकारी नहुँदा उद्यमको विकास नभएको पाइन्छ । उनीहरुको उद्यम फराकिलो नभई सीमित घेरामा मात्रै सीमित हुँदै आएको पाइन्छ । उद्यमको व्यवस्थापन, चुस्त आर्थिक हिसाबकिताब, उद्यमको भावी योजना, बजारीकरण र रोजगारीको विषयमा धेरै उद्यमीहरुलाई अहिलेको समयमा पनि अन्योल नै छ ।

उनीहरुको उद्यम नितान्त घर खर्चमै सीमित भएको परिदृश्यमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाले भने उद्यमीको सर्वाङ्गीण विकासका लागि नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । ८० महिला उद्यमहरुबाट सुरु भएको कार्यक्रमले अहिले प्रतिस्पर्धाका आधारमा नगरका दस उत्कृष्ट उद्यमी महिला घोषणा गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो ।

“उद्यमलाई कसरी उत्कृष्ट र व्यावसायिक बनाउन सकिन्छ भन्ने सिकाइ दिएका छौँ, निवेदनमा समावेश हुनुभएका नगरका ८० महिला उद्यमीहरुको घरघरमै पुगेर नगरपालिकाले गठन गरेको अनुगमन समितिले अनुगमन गरेको थियो”, उहाँले भन्नुभयो, “उनीहरुको व्यवसायको अवस्था, प्रविधिको प्रयोग, रोजगारी तथा भावी योजना लगायतका नौ छनोटको विषयका आधारबाट प्रतिस्पर्धा गराएर ४० महिला छनोट ग¥यौँ त्यसबाट पुनः २० महिला छनोट गर्दै अहिले नगरका १० उत्कृष्ट महिला उद्यमी घोषणा गरेका छौँ । उनीहरुको व्यवसाय उत्कृष्टसँगै भावी योजनासमेत निकै राम्रो छ ।”

उपप्रमुख काउचाका अनुसार उत्कृष्ट १० मा पर्न सफल महिला उद्यमहरुलाई गलकोट नगरपालिकाले प्रोत्साहनस्वरुप प्रतिउद्यम ५० हजार र २० उद्यमी महिलामध्ये १० जना अब्बल महिलालाई रु २० हजारका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा साना तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका महिलाहरुलाई आफ्नो उद्योग तथा व्यवसायको विस्तार तथा विकासका लागि उक्त कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमको प्राविधिक सहयोगी संस्था रिप, दायित्व, लुम्बनी प्रदेश संयोजक सञ्जय पोख्रेलले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाले छनोट गरेको १० महिला उद्यमीहरु करिना घर्ती पुन, सुमित्रा कार्की, प्रेमकुमारी पुन, सीता पुन, तेजकुमारी पुन, थममाया पुन काउचा, धनमाया श्रीस मगर, कुमारी कार्की, सविना घर्ती मगर र विनिता घर्ती रहनुभएको छ । उद्यमी छनोटको सिलसिलमा महिलाहरुले सञ्चालन गरेको उद्यम, व्यवसायको अवस्था, समुदायमा पारेको प्रभाव, बजारीकरण, वित्तीय अवस्था, ग्राहकको व्यवस्थापन जस्ता सूचकका आधारमा छनोट गरिएको संस्थाले जनाएको छ । नगरले उत्कृष्ट १० जनालाई पुनः तालिम तथा सहजीकरणपश्चात् पुनः नगरको उत्कृष्ट एक उद्यमी छनोट गरेर रु एक लाख पुरस्कार दिने जनाएको छ ।

उक्त कार्यक्रमले ग्रामीण महिलाहरु उद्यमतर्फ थप आकर्षण हुने गलकोट नगरपालिकाले जनाएको छ ।