May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

सुगमहुँदै जोगबुढाका दुर्गम बस्ती

जोगबुढा- डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिनुभयो ।

Advertisement

सादनी खोलामा बनिरहेको मोटेरेव पुलको अवलोकन गरिरहेका उहाँ २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाई सरी यहाँ आउनुभएको हो । उहाँले विगतका तुलनामा यहाँको बस्तीमा विकासले गति लिन थालेकाको भन्दै खुसी व्यक्त गर्नुभयो । “बस्ती बस्न सुरु गर्दाका दुःख त अहिले शब्दले वर्णन गर्न सकिन्न ।” उहाँले भन्नुभयो, “अहिलेको विकासको सुरसार हेर्दा पछिका सन्नतिलाई सुविधा गाउँर्र्मै प्रशस्त होला भन्ने आश छ ।”

डडेल्धुरा सदरमुकामबाट परशुराम नगरपालिका कार्यालयबाट करिब ९० किलोमिटर दक्षिण परशुरामको नं ७ वडामा प्रवेश गर्ने मुख्य नाका रहेको सादनी खोलामा पक्की पुल निमार्ण हुन थालेपछि सादनी र मलास क्षेत्रका करिब ६०० घरधुरीलाई आवागमनमा सहज हुने भएको छ । “दार्चुलाबाट यहाँ आउँदा तोरी पेल्न दिनभरि लगाएर महेन्द्रनगर पैदल जान्थ्यौँ ।” बोहराले भन्नुभयो, “अहिले त पुलपुलेसा, स्कुल, स्वास्थ्य संस्था बस्तीमै आए ।”

उहाँले सादनी खोलामा विगतमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको बताउनुभयो । “अहिले पनि महाकाली नदीमा किस्ती, टियुव चडेर महाकाली तरेर किनमेलदेखि उपचारसम्मका लागि यहाँबाट भारतको टनकपुर जान्छौँ ।” उहाँले भन्नुभयो, “कोरोना कहरपछि किस्ती चल्न सकेको छैन ।” उहाँले जिल्ला सदरमुकामसित दूरीका हिसावले टाढा रहे पनि भारतीय बजारसित निर्भर हुनुपरेको सुनाउनुभयो ।

“विसं २०४५ यता महाकालीमा किस्ती चलेर भारत ओहोरदोहोर गर्न थालिएको हो ।” उहाँले भन्नुभयो, “ पहिलोको भन्दा विकास भइरहेको भए पनि अझै बस्तीमा विविधकाले समस्या छन् ।” त्यसैगरी सादनी खोलामा निमार्णाधीन पुल छेउमा व्यापारी गर्दै आएका सादनीका स्थानीय हरिश भण्डारीले विगत चार वर्षयता बस्तीमा विकास निमार्ण भइरहेको बताउनुभयो ।

“अहिले पनि भौगोलिक दृष्टिकोणले जिल्लार्कै विकट क्षेत्रमा हाम्रे वडा पर्छ ।” उहाँले भन्नुभयो, “सडक सञ्जाल विस्तारदेखि अन्य संरचना बन्दा गाउँमा अलि सहज भएको छ ।” उहाँले भारतीय बजारमा गएर दिनचर्या गुजार्नुपरेको बताउँदै भण्डारीले मलास क्षेत्रकै धेरै बस्तीमा अझै गोरेटो बाटो मात्रै निमार्ण भएको बताउनुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ, दार्चुला, बैतडीलगायतका जिल्लाबाट बसाइसरी यहाँ बसोबास दशकौँदेखि गर्दै आएका छन् ।

“यहाँबाट उपचारका लागि जानु प¥यो भने दिनभरि जसो लाग्छ ।” उहाँले भन्नुभयो, “यहाँबाट महाकाली तरेर भारत जाने हो भने तीन घण्टामा उपचार गरेर घर फर्किन्छौँ ।” विगतमा सादनी खोलामा पुल नहुँदा विद्यार्थीहरु मारमा पर्ने गरेका थिए । वर्षात्का बेला सादनी खोला तर्न नसक्दा जोगबुढा बजार जानसमेत समस्या हुने गरेको थियो । “पारी चन्दनीमा रहेको सिद्धबैजनाथ स्कूल जाँदा हाम्रा छोरा छोरी बर्षातमा सक्दैन थिए ।” उहाँले भन्नुभयो, “पुल बन्न थालेपछि गाउँमा खुसियाली छाएको छ ।”

परशुराम नगरपालिकाको जोगबुढा बजारबाट सादनी क्षेत्रमा पुग्ने कच्ची सडक अझै स्तरोन्नति हुन सकेको छैन । महाकाली करिडोर निर्माणअन्तर्गत पर्ने सडकको ट्याक खोलिए पनि अझै उक्त सडक निमार्णको काम भने कछुवा गतिमा छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी सीमानासम्म जोड्ने महाकाली करिडोरको सडक निमार्ण भए जोगबुढा क्षेत्रको विकासमा टेवा पुग्नेमा स्थानीयवासी आशावादी छन् ।

“सादनीमा बनिरहेको पुल पनि करिडोर अन्र्तगत पर्ने नै हो ।” उहाँले भन्नुभयो, “अब करिडोर निमार्णलाई पनि गति दिन सके दुर्गम बस्तीको पनि मुहार फेरिने आशा छ ।” पुल निमार्णको जिम्मा पाएको लुम्बिनी, कुमार, राजेन्द्र जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल निमार्ण दु्रत गतिमा भइरहेको बताउनुभयो । “फिल्डमा काम सुरु भएको अढाइ महिना हुँदा ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” उहाँले भन्नुभयो, “हामीले आगामी असोजसम्म निर्माण सक्ने लक्ष्यअनुसार अघि बढिरहेकम छौँ ।” निमार्णको अवधि ४२ महिना रहेको निर्माण कम्पनीले जनाएको छ ।

त्यसैगरी परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशबसिंह बोहराले पहिलोपटक वडालाई मोटरेवल पुल बनिरहेको जानकारी दिनुभयो ।” वडालाई जोड्ने अरु दुई स्थानमा यसअघि झोलुङ्गे पुलले जोडेको छ ।” उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकासमा टेवा पुगेको छ ।” उहाँले तराई जोड्ने सडकको ट्रयाक खोल्ने काम पनि वडास्तरबाट भएको बताउनुभयो ।

“गाउँमा मात्रै करिब ४० किलोमिटर कच्ची सडक हामीले खोलेका छौँ ।” उहाँले भन्नुभयो, “स्वास्थ्य सुविधा पु¥याउनेदेखि गाउँमै प्रवीणताप्रमाण पत्र तहसम्मको शिक्षा पु¥यायौँ ।” उहाँले सादनी र मलास क्षेत्रका बस्तीको विकासका लागि चाँडो महाकाली करिडोरको सडक निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले महाकाली करिडोरअन्तर्गत जोगबुढा क्षेत्रमा ट्रयाक खुलाउने काम भइरहेको बताउनुभयो ।

कञ्चनपुरको सुडादेखि चुनापानी, गैरीखान सादनी जोड्ने १८ किलोमिटर सडकको ट्रयाक वडाकै पहलमा खोलिएको बताउनुभयो । “त्यो सडकको चौडाइ गर्ने सरसफाइका लागि प्रदेश सरकारको पनि सहयोग रहेको छ ।” उहाँले भन्नुभयो, “कञ्चनपुरको झिलमिलादेखि गैरीखानसम्मको १५ किलोमिटर सडक खोल्ने कार्य पनि गरेका छौँ ।”

उहाँले स्वास्थ्य सेवामा पनि आफूहरुले प्रयोगशाला लगायतका संरचना बस्तीमा सञ्चालनमा ल्याइएको बताउनुभयो । “नागरिकलाई सेवा प्रवाह हुने र विकासको आभास दिलाउने गरी हरदम प्रयास गरेका छौँ ।” उहाँले भन्नुभयो, “थोरै भए पनि विकट बस्तीमा नागरिकले सुविधाको सुगन्ध भने पाइरहेका छन् ।”